२०७८ असोज १ गते शुक्रवार

सरकारको कामलाई प्रचारमा ल्याउन मुख्यमन्त्रीको निर्देशन



५ फागुन,घोराही ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा केपी ओली समूहका स्थायी समिति सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले सरकारले गरेका कामलाई प्रचारमा ल्याउन र गलत भ्रमलाई चिर्न कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको छ ।

अखिल नेपाल महिला संघ दाङले आज घोराहीमा आयोजना गरेको जिल्ला स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता पोख्रेलले छोटो अबधीमा सरकारले उल्लेख्य काम गरेको प्रचारमा जुट्न र गलत भ्रमलाई चिर्न कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको हो ।

सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, खेलकुद एवं सामाजिक विकासमा सरकारले धेरै काम गर्न सकेको तर विरोधीहरुले गलत भ्रम छरेको भन्दै महिला कार्यकर्ताहरुलाई सत्यको डटेर प्रचार गर्न आग्रह गर्नुभयो ।

नेकपा नेतृत्वको केन्द्र सरकार, प्रदेश सरकार र स्थानिय सरकारले विकासलाई चौतर्फि अघि बढाएको र त्यसलाई सम्पत्तीकारुपमा ग्रहण गर्ने गरी जनता माझमा जान समेत कार्यकर्ताहरुलाई सुझाब दिनुभयो । केपी ओलीको सोचलाई नेकपाका प्रचण्ड माधब समूहले बुझ्न नसक्दा उनिहरु चोइटिएर गएको जिकिर गर्नुभयो ।

देशलाई थप गतिशिल बनाउन आगामी बैशाखमा हुने चुनाबबाट सत्यको जितमा जनताले फैसला गर्ने बताउनुभयो । महिलाहरुलाई शसक्तिकरण गर्ने तथा आर्थिक, सामाजिक तथा राजनितिक अधिकार प्राप्तीमा संलग्न गराउन अखिल नेपाल महिला संघका कार्यकर्ताहरुलाई निर्देशन समेत दिनुभयो ।

कार्यक्रममा नेतृ सुजिता शाक्य, शान्ता चौधरी, कोमल ओली, सरस्वती गौतम, मेनका पोख्रेल, तुलसा केसी, नेता मनोहर बुढाथोकी लगाएतकाले देशलाई नविन ढाँचाबाट अघि बढाउनुको बिकल्प नभएको बताउनुभयो ।

अखिल नेपाल महिला संघका जिल्ला अध्यक्ष हुमा डिसीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लाभरबाट महिलाहरुको सहभागिता रहेको थियो भने कार्यक्रमको सहजिकरण सचिब साजिदा सिद्धिकीले गर्नुभएको थियो ।।

प्रकाशित मिति : २०७७ फाल्गुन ५ गते बुधवार
प्रतिक्रिया दिनुहोस्