२०७८ असार १० गते बिहिवार

‘श्री ५ लाई ‘राजा’ हैन ‘बडा महाराज’ भन्नु पर्छ ‘नत्र पुलिसले पकड्छ ’



‘श्री ५ लाई ‘राजा’ हैन ‘बडा महाराज’ भन्नु पर्छ अनि रानीलाई रानी हैन, मुमा बडामहारानी’ सानो छँदा बुवाले त्रास दिनुहुन्थ्यो ‘नत्र पुलिस ले पकड्छ ।’ त्यो बेलाको बडामहाराजको शासन ब्यवस्था म बबुरो बालकलाई के थाहा कस्तो थियो भनेर ? तर बालमनोबिज्ञानमा अमिट छाप बनेर बसेको भने पक्कै थियो कि ‘बडामहाराज ÷मुमाबडा महारानी मेरा बुवा आमा भन्दा पनि ठूला हुन् ।’ बालमनोबिज्ञानमा बसेको यो अमिट छापलाई बुवाको अर्को त्रासदीले हट्न दिँदैन थियो, उहाँ भन्नु हुन्थ्यो ‘बडामहाराजलाई तपाई पनि भन्न पाईँदैन , मौसुफ÷हुुकुम भन्नु पर्छ ।’

नत ‘आउनु भयो, जानु भयो’….ईत्यादी नै भन्न पाईने । आईबक्स्यो, गईबक्स्यो भन्नै पर्ने, बुवाको त्रास दोहोरिन्थ्यो – नत्र उहि पुलिसले समात्छ ।
२ सय ४० बर्ष सम्म जिब्रोमा लगाम लगाएर बोल्न बाध्य पारेका ‘बडामहाराजहरु’ को ‘हुकुम’ ले बाजे, बोई ,बाआमाहरुले कति असहज माने या मानेनन् ? त्यो बाल्यअवस्थामा मैले हेक्का राख्ने सामथ्र्य राख्दैनथे । यति मात्रै लाग्थ्यो ‘मौसुफ महाराज मेरा बा आमा भन्दा पनि ठूला होईबक्सन्छ ।’ यसर्थ मैले बाल्यावस्थामा त्यो बेलाका शासकलाई श्री ५ बडामहाराज बाहेक अर्को नामले पुकार्नै पाएन ।

शायद, बडामहाराजहरुले लादेको ‘हुकुम’ नेपालीहरुका लागि पाच्य थिएन । तर महाराजका अगाडी ‘रैतीहरु’ लाई घुँडा टेक्नु पर्ने अन्तिम बिकल्पनै थियो । जिब्रोमा लागेको लगाम हटाउन चाह्यो नेपाली समाज । बडा महाराजको ‘गुलामी पिंजडा’ भित्र थुनिएको नेपाली समाजले ‘आजादी’ चाह्यो । बडामहाराजका अगाडी घुँडा टेक्ने हैन, शिर उँचो पार्दै आँखा जुधाएर बोल्न चाह्यो ।

अन्ततः २ सय ४० बर्ष सम्म बडा महाराजको निरंकुशता रुपि बलिया सरियाले बुनेको पिंजडा भित्र थुनिएको नेपाली समाजले पिंजडा भत्काउने जोड बल गर्यो । भाँचिए पिंजडा बुनिएका निरंकुशताका सरियाहरु । हुलका हुल बडामहाराजका ‘गुलाम’ हरु पिंजडा बाहिर निस्कीए । खोसिदिए ‘श्री ५’ को ‘श्रीपेच’ । गलहत्याईदिए बडामहाराजलाई मौसुफको आलिसान नारायणहिटि दरबारबाट ।

अनि बल्ल फूक्यो नेपाली नागरिकका जिब्रोमा लागेको लगाम र नेपाली समाजले बडामहाराजलाई भन्न पायो ‘राजा पनि अब हामी जस्तै सर्वसाधारण नागरिक भए ।’

लोकतन्त्रान्त्रीक गणतन्त्रात्मक शाशन ब्यवस्थाको स्थापना पश्चात जिब्रोमा लगाम लाग्दैन भन्नेमा ढुक्क नेपाली समाजले महशुस गर्यो ‘अहो ! यस्तो पो शासन ब्यवस्था ।’
तर अँह ! मलाई आज पनि बोल्न डर लाग्छ । शायद मेरो बुवा आज जिवित हुनुहुँदो हो त, यसैगरि भन्नु हुन्थ्यो होला ‘धेरै नबोल्नु पुलिसले समात्छ ।’ लोकतन्त्रमा नेपाली नागरिकका मुख खुल्न पाउँछन् । बोल्न पाउने स्वतन्त्रता सबै नागरिकलाई हुन्छ ।

तर अँह ! म फेरी पनि भन्छु ‘मेरो बुवा जिवित हुनुहुँदो हो त यहि भन्नु हुन्थ्यो धेरै नबोल्नु पुलिसले समात्छ ।’
हो म बोल्न पाएँ – बडामहाराज, मुमा बडामहारानी भन्नु पर्दैन अहिले मलाई । यो बाध्यकारी अवस्थाबाट मैले मुक्ती पाएँ र त्यो बेलाका बडामहाराजलाई अहिले गर्बका साथ भन्छु ‘पूर्व राजा ।’

तर त्यो (राज संस्थाका) बेला मलाई बडामहाराज र मुमाबडामहारानी नभने पुलिसिले समात्थ्यो । अहिले ‘कसै’ (जो महाराज भन्दा कम छैन) लाई बडामहाराज या मुमा बडामहारानी भन्यो भने पुलिसले समात्छ । थाहा छैन, कसैलाई बडामहारानी भनेकै आधारमा पक्राउ परेकी रामकुमारी झाँक्री जस्तै मेरो कठालो समात्न पुलिस आई पुग्छ पुग्दैन ।

तर मेरो प्रश्न छ ‘यदि रामकुमारीले बडामहारानी भनेर महा अपराध गरेकि हुन्, भने तपाईँ हामी जस्तै साधारण नागरिक किन बन्न नसकेको ?’ किन निकै (अ)साधाराण ब्यक्तित्वको छबि प्रस्तुत गरेर त्यो बेलाका महाराजकै जस्तै रवाफ देखाईबक्सेको ?’

मैले यति बोल्दै गर्दा मेरो मनमा त्रासदीको प्रश्न उब्जिएकै छ ‘कतै रामकुमारी लाई लागेको मुद्धा मलाई पनि लाग्ने त हैन ?’ अहो लोकतन्त्र ! कति स्वतन्त्र हामी ? कसैको आलोचना गर्यो कि मुद्धा लाग्ला, जेलमा कोचिएला भन्ने डर ।

यो यस्तो लोकतन्त्र हो, जसले मुलुकमा हुने हरेक अनियमीतता, गैर न्यायिक कामको पनि खुलेर बिरोध गर्न दिँदैन । स्वतन्त्र बोल्न पाउने अधिकार कुण्ठित गरेको हाम्रो लोकतन्त्रले उहि राजतन्त्रको परिभाषा बोलिरहेको छ । जिब्रोमा लगाम कसिदिएको छ ।

बोल्दा कति सम्म बोल्ने ? के बोल्ने ? नापजोख गरेर मात्रै मुख खोल्न पाईन्छ । मुखमा पट्टि चप्काएर बस भन्दै छ हाम्रो ‘तन्त्र’ । अनि फेरिएको ‘लोक’ बाहेक ‘तन्त्र’ हो त ? हटेको ‘राज’ मात्रै रहेछ ‘गद्दी’ उस्तै ।

फेरीएको ‘लोक’ मात्रै हो ‘तन्त्र’ त २ सय ४० बर्षे नै कायमै रहेछ भन्ने आभास जो कोहिले गरिरहेकै छ । अनि त नेपाली समाजले भन्न थालिसक्यो ‘यि राजाहरु भन्दा ति राजा ठिक ।’ तर म भन्दैन ति राजा ठिक , र यो पनि भन्दनै यि ‘रा….(राज्य सञ्चालक)’ हरु पनि ठिक ।

प्रकाशित मिति : २०७७ माघ ३० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्