२०७८ जेष्ठ २ गते आइतवार

साढे २९ हजार चालक कार्वाहीमा



२६ माघ,घोराही।
दाङमा ट्राफिक नियम पालनामा चालकहरु जिम्मेवार नभएको एक तथ्यांकले देखाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले चालु आर्थिक बर्षको ६ महिनामा गरेको सवारी जाँचका क्रममा झण्डै साढे २९ हजार चालकहरु कार्वाहीमा परेका छन् ।

ट्राफिक नियम पालना नगरेकै कारण २९ हजार ४ सय ५० जना चालक कार्वाहीमा परेको ट्राफिक प्रहरी हवल्दार काँशीनाथ चौधरीले जानकारी दिनुभएको छ । उक्त कार्वाहीबाट एक करोड ७८ लाख ६७ हजार रुपैयाँ जरिवाना संकलन भएको छ । ट्राफिक नियम उल्लङघन गर्नेमा सबै भन्दा धेरै मोटरसाईकल चालक रहेका छन् ।

१० हजार ६ सय ७७ जना मोटरसाईकल चालक कार्वाहीमा पर्दा ७० लाख ४९ हजार रुपैयाँ जरिवाना संकलन भएको छ । त्यस्तै ८ हजार २ सय १८ ट्रक, ३ हजार ३ सय ४८ जिपकार, २ हजार ५ सय १२ ट्याक्टर, २ हजार ४ सय ९१ अटो र २ हजार एक सय ९९ जना बसका चालक कार्वाहीमा परेका छन् ।

ट्राफिक नियमको बारेमा प्रहरीले सचेतना जगाउदै आए पनि अटेरी गर्नेको संख्यामा भने कमि आउन सकेको छैन् । अर्को तर्फ दुर्घटनामा पनि कमी आउन सकेको छैन् ।

चालु आर्थिक बर्षको ६ महिनामा एक सय ३१ वटा सवारी साधन दुर्घटना हुदा ४८ जनाको मृत्यु र २ सय २ जना घाईते भएका छन् । गतबर्ष ३७ हजार ४ सय ६३ जना चालक कार्वाहीमा पर्दा २ करोड ३० लाख ७३ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको थियो ।

प्रकाशित मिति : २०७७ माघ २६ गते सोमवार
प्रतिक्रिया दिनुहोस्