२५ माघ,घोराही।
वितेको ८ महिनामा दाङमा ३० वटा घरगोठमा आगलागी हुदा डेढ करोड रुपैयाँ बढीको क्षति भएको छ । जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङका अनुसार बैशाख देखी पुस महिना सम्म २५ वटा घर र ५ वटा गोठमा आगलागी भएको छ ।
जस अन्तरगत ११ वटा घर पूर्णरुपमा जलेर नष्ट भएको छ भने १४ वटा घरमा आंशिक क्षति पुगेको केन्द्रले जनाएको छ । त्यस्तै ५ वटा गोठ पनि आगोले जलेर नष्ट भएको छ । ति घर गोठमा आगलागी हुदा एक करोड ६९ लाख ३३ हजार ६ सय २० रुपैयाँको क्षति भएको छ ।
घटना पछि प्रहरीले संकलन गरेको मूचुल्का अनुसार उक्त धनराशी बराबरको नोक्सानी भएको हो । आगलागीका कारण २५ घरका ८७ जना सदस्यहरु विस्थापित भएका छन् । उनिहरुलाई घर नबन्दा सम्म आफन्तको घर तथा सार्वजनिक स्थलमा आश्रय लिएर बस्नु परेको थियो ।
यसैविच पछिल्लो ९ महिनामा देशभर १६ सयभन्दा धेरै आगलागीका घटना भएका छन् ।गएको वैशाख महिनादेखि अहिलेसम्म १६ सय ४० वटा आगलागीका घटना भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
आगलागीका कारण यो अवधिमा ६० जनाले ज्यान गुमाएका छन् भने १ अर्ब २२ करोड १८ लाख रुपैयाँभन्दा धेरैको नोक्सानी भएको छ ।।