२०७८ बैशाख ७ गते मङ्गलवार

आत्मालोचना सङ्गै रित्तियो स्वर्गद्वारीको विबाद , दुवै पक्ष मिलेर जाने



१७ माघ,प्यूठान ।
प्यूठानको स्वर्गद्वारी नगरपालिकामा केही दिन अगाडि देखि कर्मचारीमा आएको समस्या र उत्पन्न भएको तिक्तता समाप्त भएको छ ।
यहि माघ ८ गते स्वर्गद्वारी नगरपालिका नगर कार्यपालिकाका कर्मचारीहरूले नगरपालिकाका योजना तथा प्रशासन अधिकृत पुरन चन्द्र आचार्यमाथी गणेशमान कालाथोकीले र टेक बहादुर भट्टराईले अमानवीय व्यवहारसङ्गै हातपात गरेको उल्लेख गर्दै कर्मचारीलाई सुरक्षाको प्रत्याभूति र दोषीलाई कारबाहीको माग गर्दै एक विज्ञप्ति जारी गरेपछि उत्पन्न भएको तिक्तता विज्ञप्तिमा दोषी उल्लेखित कालाथोकी र भट्टराईले केही शैलीमा गल्ती भएको महसुस गर्दै आत्मालोचना गरि अब यस्तो नहुने कुरा व्यक्त गरेपछि दुवै पक्षबिचको तिक्तता समाप्त भएको हो ।
कर्मचारी खटनपटनको विषयमा त्रुटि भएको महसुसकै कारण कर्मचारीकै गुनासो अनुसार अधिकृत आचार्यसङ्ग कुरा राख्न खोज्दाको कुनै शैलीमा कमजोरी भएको होला। त्यसलाई आफूले सहर्ष रूपमा स्वीकार गरेको भन्दै पटकपटक माफी मागिरहनु आफ्नो स्वाभिमानले नदिने भन्दै दुवै पक्षले गल्तिको महसुस गर्नु पर्ने कुरा गणेशमान कालाथोकी (भिम)ले व्यक्त गरे । भिमले भने ” हो शैलीमा त्रुटि भयो होला , कोठामा लगेर चुकुल लगाएर त्यसरी प्रस्तुत हुनु गलत हो त्यसलाई मैले जिल्ला प्रशासनमा गएर पनि आत्मालोचना गर्दै त्यही क्षमायाचना गरेको हुँ । अहिले पनि त्यही कुरा दोहोराउन आवश्यक ठान्दैन ।”
आचार्यमाथी गरेका केही व्यवहारमा केही कमजोरी भएको स्विकार्दै टेक बहादुर भट्टराई ( पदम ) ले अबदेखि यस्तो हुदैन भन्दै स्वर्गद्वारी नगरपालिकाको समृद्धिको लागि जनप्रतिनिधि तथा कर्मचारी दुवै पक्ष सौहार्दपूर्ण वातावरणमा मिलेर जानुपर्ने कुरा उल्लेख गरे । प्रमुख जिल्ला अधिकारी भुसालले आवश्यक छलफल तथा परामर्श दिदै दुवै पक्षलाई मिलेर अगाडि बढ्नको लागि सल्लाह दिएका थिए साथै नगरपालिकाका कर्मचारीले सेवाको समयमा कुनै गुनासो भए प्रमुख प्रशासकीय अधिकृतसङ्ग गुनासो व्यक्त गर्नु पर्ने सुझाव दिए । भुसालले कर्मचारीहरूले सम्बन्धित ठाउँमा गुनासो राख्नु पर्छ भन्दै बिचमा जनप्रतिनिधि तथा अन्य व्यक्तिसङ्ग नातागोता , आफन्तको नाताले गुनासो राख्नु नै गलत भएको बताए । जनप्रतिनिधिले मेयरसङ्ग र कर्मचारीले प्रमुख प्रशासकीयसङ्ग आफ्ना कुरा राख्न सबैलाई सल्लाह दिए ।
नगरप्रमुख नेत्र बहादुर रोका क्षेत्रीले कर्मचारीहरूको सुरक्षा तथा सहजताको लागि आफू सधै तत्पर रहेको बताउदै भने , ” मैले के गर्नुपर्छ भन्नुहोस् म तयार छु । कर्मचारीले पनि नगरपालिकाको सहजता र व्यवहारीकतालाई ख्याल गरिदिनुहोस ।”
दुवै पक्षले यी तिक्तताका कुरा बिर्सिदै नगरपालिकाको हितको लागि एक ढिक्का भएर लाग्न र यो समस्यालाई यहि समाधान गर्न मध्यस्थता गर्न उपस्तिथ भएका सम्पूर्ण सरोकारवालाहरूको बिचारलाई मनन गर्दै यो समस्यलाई यहि समाधान गर्ने वातावरण तयार भएको थियो । अबदेखि नगरपालिकको कार्यक्रमहरू सहज रूपमा सौहार्दपूर्ण वातावरणमा सञ्चालन हुने विश्वास दुवै पक्षले दिलाएका छन ।
यसैगरि कार्यरत कर्मचारीहरूको बाहिरी सुरक्षाको प्रत्याभूति प्रमुख जिल्ला अधिकारी भुसाले दिलाएका छन भने आन्तरिक सुरक्षाको प्रत्याभूति नगरप्रमुख तथा स्थानीय सरकारले दिलाउनु पर्ने बताएका छन । नगरपालिकामा उत्पन्न समस्याको समाधानमा मध्यस्थताको लागि सिडिओ , डिएसपी , नगरप्रमुख , कर्मचारी संगठनका केन्द्रिय पदाधिकारी जिल्ला पदाधिकारी राजनीति कर्मी , जनप्रतिनिधि लगाएतको उपस्थित थियो ।

प्रकाशित मिति : २०७७ माघ १७ गते शनिवार
प्रतिक्रिया दिनुहोस्