२०७८ साउन १९ गते मङ्गलवार

भारतले बन्द गर्‍यो नेपालतर्फको नहर



१३ माघ, दाङ । नेपाल र भारत दुवैतर्फका किसानलाई सिँचाइमा सहयोग पुर्‍याउने उद्देश्यले कोशी व्यारेजबाट दुई वटा नहर निर्माण गरिएको छ । एउटा कोशी पश्चिमी र अर्को कोशी पूर्वी । कोशी पूर्वी भने सुनसरी जिल्ला हुँदै भारततिर गएको छ । पश्चिमी नहर सप्तरी हुँदै बग्ने गरेको छ । प्रमुख दुई बाली धान र गहुँको सिजनमा यो नहरमा कोशी व्यारेजबाटै सिँचाइ गरिन्छ ।

तर, भारतले आफ्नो भूमितर्फ बग्ने पूर्वी नहरमा मात्रै पानी छाड्दा कोशी पश्चिमी नहरमा पानी छाडेको छैन । वर्षे भेलमा भारततिरको नहर बन्द गरेर नेपालतर्फको नहरमात्रै खोल्ने भारतले हिउँदयाममा भने ठीक उल्टो काम गरेको छ ।

व्यारेजदेखि सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर ६ कटैयासम्मको ३२ किलोमिटर नेपाली भूमि हुँदै यो नहर भारत छिरेको छ । नेपालतर्फको ३२ किलोमिटरको यो भूमिमा सयौं किसानले हजारौं बिघा जग्गामा अन्नबाली लगाउने गर्छन् । यो नहरसँग जोडिएका १२ वटा छोटी नहरहरु पनि छन् । छोटी नहर मार्फत् केही टाढाका किसान पनि सिँचाइबाट लाभान्वित हुने गर्छन् ।

पूर्वी नहरमा हालिएको पानीबाट नेपालीलाई कुनै फाइदा छैन । यो नहर झण्डै एक किलोमिटर नेपाली भूमिमा छ भने बाँकी सबै भारतीय भूमिमा छ । नेपालको एक किलोमिटर क्षेत्रमा खेतीयोग्य जमिन नै छैन । यो नहरको पानीले भारतीय किसानले मात्रै सिँचाइ गर्ने गर्छन् ।

गहुँ उम्रिसकेको अवस्थामा पनि भारतले कोशी पश्चिमी नहरमा पानी नछाड्दा सिँचाइ गर्न समस्या भएको नेपाली किसानले बताएका छन् । ‘हामी प्रत्येक वर्ष यही नहरबाट गहुँ बालीमा पानी हाल्दै आएका छौं,’ हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १ का किसान बुदुर राम भन्छन्, ‘तर यस पटक गहुँ उम्रिदासम्म नहरमा पानी छाडिएको छैन ।’

अन्य वर्षहरुमा पुसको दोस्रो साता नै नहरमा पानी छाडिन्थ्यो । यस पटक माघको दोस्रो साता बित्न लाग्दा पनि पानी छाडिएको छैन । नहरमा पानी नछाड्दा झण्डै २५ हजार बिघा जग्गामा लगाइएको गहुँबालीलाई सिँचाइ गर्न समस्या भएको छ ।

प्रकाशित मिति : २०७७ माघ १३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्