२०७८ साउन १६ गते शनिवार

प्रचण्ड–नेपाल समूहले ओलीलाई पार्टीको साधारण सदस्यबाट पनि हटायो



११ माघ । पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहको नेकपाले प्रधानमन्त्री केपी ओलीलाई पार्टी साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा आइतबार बसेको स्थायी कमिटी बैठकले ओलीलाई पार्टी सदस्यसमेत नरहने गरी कारबाही गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकपछि सञ्चारकर्मीहरूसँग श्रेष्ठले पार्टीको अध्यक्षसमेत रहेका ओलीलाई पार्टी अनुशासन उल्लंघन गरेकाले कारबाही गरेको बताए ।

यसअघिको बैठकले ओलीलाई किन कारबाही नगर्ने भनी स्पष्टीकरण सोधेको थियो । प्रचण्ड–नेपाल समूहले यसअघि ओलीलाई अध्यक्षबाट हटाएर माधवकुमार नेपाललाई अध्यक्ष बनाएको थियो ।

बैठकले पार्टी केन्द्रीय कार्यालयको सचिवमा स्थायी कमिटी सदस्य गंगालाल तुलाधरलाई जिम्मेवारी दिने निर्णय पनि गरेको छ । अर्को बैठक दुई दिनपछि बस्ने श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : २०७७ माघ ११ गते आइतवार
प्रतिक्रिया दिनुहोस्