२०७८ कार्तिक ९ गते मङ्गलवार

देउखुरीलाई नमुना सहर बनाउने तयारी



८ माघ, दाङ । दाङको देउखुरीलाई अन्तर्राष्ट्रिय स्तरको राजधानी बनाउने गरी काम अघि बढाइएको छ । राप्ती नदीको किनारलाई समेटेर बनाईएको स्थायी राजधानीलाई आधुनिक सहरका रुपमा विकास गर्ने योजनामा लुम्बिनी प्रदेश सरकार लागेको छ । त्यसका लागि लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरण गठन गरिएको छ । प्राधिकरणको कार्यालय देउखुरीमै स्थापना गरेर छिट्टै काम पनि थाल्ने तयारी छ ।

स्थायी राजधानीको टुङ्गो लागेपछि प्रदेश सरकारको योजना अनुसारको व्यवस्थित सहर निर्माणका लागि लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरण गठन गरी सबै योजनावद्ध ढंगले अघि बढाइएको छ । प्राधिकरणले पहिलो चरणमा राजधानी घोषणा गरिएको क्षेत्रको स्थलगत अवलोकन गर्ने, राजधानीको लागि गुरुयोजना निर्माण गर्न कन्सल्टेन्सी छनोट गर्ने लगायतका काम सुरु गरिएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ध्रुव मजगैंयाले बताउनुभयो ।

राजधानीको लागि मास्टर प्लान बनाउने काम भइरहेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत मजगैंयाले बताउनु भयो । तत्काल भवनहरु भाडामा ल्याएर काम चलाउ रुपमा प्रदेश राजधानी चलाउने योजनामा प्रदेश सरकार नभएको र त्यसका लागि आफूहरुलाई योजनावद्ध तरिकाले काम गर्ने निर्देशन प्राप्त भएको मजगैंयाले बताउनुभयो । राजधानीको काम व्यवस्थित रुपले गर्नका लागी फिल्डमै पुगेर कार्यालयले तत्कालै देउखुरीबाट काम थाल्ने उहाँले बताउनु भयो ।

राप्ती नदीको खाली जग्गालाई व्यवस्थित गरेर लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरीलाई देशकै नमुना अन्तर्राष्ट्रिय स्तरको सहर बनाउने गरी काम अघि बढाइएको लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले बताउनुभयो ।

 

प्रकाशित मिति : २०७७ माघ ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्