२०७८ कार्तिक १ गते सोमवार

ओलीको संसद विघटन गर्ने कदम राष्ट्रघाती र एकता विपरित



३ माघ,घोराही ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड समूहका शिर्ष नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले जनमत र संविधानको अबमूल्यन गरेको तथा कम्युनिष्ट पार्टीलाई कमजोर पार्न लागि परेकोबताएका छन् ।

जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला एवं राजनितिक प्रशिक्षण कार्यक्रमलाई आज दाङको तुलसीपुरमा सम्बोधन गर्दै शिर्ष नेताहरुले प्रधानमन्त्री ओलीको संसद विघटन गर्ने कदम राष्ट्रघाती र जनमत सँगै कम्युनिष्ट पार्टीको एकता विपरित विरोधी भएको बताएका हुन् ।

कार्यक्रममा नेकपा प्रचण्ड समूहका अध्यक्ष माधबकुमार नेपालले प्रधानमन्त्री ओलीले गरेको संसद विघटन विधीको शासनमा अक्ष्यम्य अपराध भएको बताउनुभयो । जनमत प्राप्त सरकार र पार्टीलाई तहसनहस पार्न ओली लागेको भन्दै उहाँले त्यसको विरोधमा शसक्त भएर आफुहरु अघि बढेको बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा आफुहरु नै भएको दावी गर्दै उहाँले केपी समुहलाई एउटा गुटको संज्ञा दिनुभयो । त्यसैगरी, पार्टीका प्रबक्ता नारायणकाजी श्रेष्ठले राष्ट्रियता, गणतन्त्र र संविधानको रक्षाका लागि सबैलाई एक हुन आह्वान गर्नुभयो ।

आफुहरुआधिकारीक पार्टी भएको र अब पार्टी, देश तथा व्यवस्था बचाउने जिम्मेवारी पनि आफुहरु माथी आएको जिकिर गर्नुभयो । स्थायी समिति सदस्य युवराज ज्ञवालीले कम्युनिष्ट पार्टी भित्रबाटै प्रतिगमनको काम सुरु भएको बताउनुभयो । प्रधानमन्त्री ओलीले कम्युनिष्ट पार्टीको झण्डै दुई तिहाई बहुमतको संसद विघटन गरेर कम्युनिष्ट पार्टी र जनमतलाई ठूलो घात गरेको आरोप लगाउनुभयो ।

अर्का स्थायी समिति सदस्य बर्षमान पुनले संसद विघटन संबिधान उल्लंघन र प्रतिगामी कदम भएको बताउनुभयो । प्रधानमन्त्री ओलीले गत जेठ महिनाबाटै संसद विघटन र पार्टी एकता भाड्ने योजना बनाएको आरोप लगाउनुभयो । प्रधानमन्त्री ओली व्यक्तिबादी र स्वेच्छाचारी प्रबृत्तीबाट अघि बढ्दा देश नै संकटमा पुगेको बताउनुभयो ।

त्यसैगरी, स्थायी समिति सदस्य कृष्णबहादुर महराले अब अदालत र निर्वाचन आयोगले जनताको पक्षमा सत्य निर्णय गर्ने आशा व्यक्त गर्नुभयो । पार्टीका केन्द्रिय सदस्य ओनसरी घर्तीले नेकपा आधिकारी पार्टी आफुहरु नै भएको जिकिर गर्नुभयो ।

राष्ट्र विकास र जनताको न्यायका लागि प्रधानमन्त्री ओली बाधक रहेको बताउनुभयो । नेपाल कम्युनिष्ट पार्टी नेकपा दाङका अध्यक्ष टीकाराम खड्काको अध्यक्षतामा भएको कार्यक्रममा प्रचण्ड समूहका जिल्लाभरका नेता कार्यकर्ताहरु सहभागि भएका थिए । कार्यक्रमको सहजिकरण नेकपाका सचिब सुबास पुनले गर्नुभएको थियो ।।

प्रकाशित मिति : २०७७ माघ ३ गते शनिवार
प्रतिक्रिया दिनुहोस्