२०७८ बैशाख ५ गते आइतवार

नेपाल–भारत पेट्रोलियम पाइपलाइनमा प्वाल पारेर डिजेल चोरी



०२ माघ, काठमाडौं । नेपाल–भारत पहिलो अन्तरदेशीय पेट्रोलियम पाइपलाइनमा प्वाल पारेर डिजेल चोरी भएको भारतीय मिडियाले जनाएका छन् ।

मोतीहारी अमलेखगञ्ज पाइपलाइन अन्तर्गत नेपाली सीमाबाट एक सय किलोमिटर पर बिहारको सिवान अन्तर्गतको नविगन्जमा पाइपलाइन फुटाएर हजारौं लिटर डिजेल चोरी भएको भारतीय मिडिया नवभारत टाइम्सले दाबी गरेको हो ।

तर नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले भने पाइपलाइनमा आक्रमण भएको जानकारी भएको तर डिजेल चोरीको जानकारी प्राप्त नभएको बताए । पाइपलाइनबाट नियमित रुपमा डिजेल आपूर्ति भइरहेको प्रवक्ता उपाध्यायको भनाइ छ ।

पाइपलाइनमा आक्रमणलगत्तै भारतीय आयल कर्पोरेसनको मोतीहारीस्थित प्रणालीमा प्रेसर कम भएको र पाइपलाइनमा क्षतिको जानकारी भारतीय पक्षले तुरुन्तै पाएको निगमको दाबी छ ।

पाइपलाइन आक्रमणबाट भएको क्षति नेपालले व्यहोर्न नपर्ने पनि निगमले जनाएको छ । पाइपलाइनमा क्षति गर्नेलाई भारतीय अधिकारीले पक्राउ गरेर कानुनी कारबाही सुरु गरेको जानकारी पाइए पनि विस्तृत विवरण भने आइनसकेको प्रवक्ता उपाध्यायको भनाइ छ ।

भारतको मोतीहारीदेखि नेपालको अमलेखगन्जसम्म ६९.२ किलोमिटर लामो पाइपलाइन निर्माण गरिएको छ । सो पाइपलाइनबाट हाल डिजेल आउने गर्दछ । नेपाल र भारतका प्रधानमन्त्रीले गत वर्ष भदौ २४ गते संयुक्तरुपमा पेट्रोलियम पाइपलाइनको उद्घाटन गरेका थिए ।

प्रकाशित मिति : २०७७ माघ २ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्