२०७८ बैशाख ६ गते सोमवार

ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु



२१ पुष,दाङ ।  भक्तपुर–काठमाडौं ६ लेन सडकअन्तर्गत भक्तपुरको मध्यपुर थिमि नगरपालिका ३ गठ्ठाघरस्थित उकालोमा सडक दुर्घटना हुँदा स्कुटर चालकको मृत्यु भएको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार घाइते भक्तपुरको सूर्यविनायक नपा ४ दधिकोट बस्ने ५८ वर्षीय नरहरि न्यौपानेको मृत्यु भएको हो ।

परिसरकार प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले भक्तपुरबाट काठमाडौंतर्फ जाँदै गरेको लु २ ख ६७८ नम्बरको एलपी ट्रकको पछाडिको भागले सोही दिशातर्फ जाँदै गरेको बा ८२ प ९७३७ नम्बरको स्कुटीलाई ठक्कर दिएको थियो । ट्रकको ठक्करले स्कुटर सडकमा लड्दा चालक न्यौपाने ट्रककै पछाडिपट्टिको चक्कामा पर्न गएको उनले बताए ।

प्रहरी नायब उपरीक्षक गिरीले दुर्घटनामा परी घाइते भएका न्यौपानेलाई उपचारको लागि गट्ठाघरस्थित नागरिक अस्पताल पुर्याइएको बताए । तर उपचारकै क्रममा अस्पतालका चिकित्सकले घाइते न्यौपानेको मृत्यु भएको घोषणा गरेको उनको भनाइ थियो ।

प्रहरी नायब उपरीक्षक गिरीका अनुसार घटनाबारे जानकारी प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त ठिमीबाट सोही क्षेत्रमा गस्तीमा रहेका प्रहरी निरीक्षक पञ्चलाल गोले नेतृत्वको प्रहरी टोली घटनास्थल पुगेको थियो ।

प्रहरीले घटनास्थलको प्रारम्भिक अनुसन्धान कार्य गरी दुइटै सवारीसाधन र ट्रकका चालक रुपन्देहीको सियारी गाउँपालिाका २ बस्ने ४० वर्षीय ओमप्रकाश चमारलाई नियन्त्रणमा लिएको छ।

सवारीसाधन र चालक चमार महानगरीय प्रहरी वृत्त ठिमीको नियन्त्रणमा राखिएका छन् । घटनाबारे थप अनुसन्धान कार्य भइरहेको भक्तपुर प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७७ पुष २१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्