२०७८ बैशाख २ गते बिहिवार

पश्चिम नेपालमा वर्षा र हिमपात, मुलुकभर बादल



पश्चिमी वायुको प्रभावले सोमबारदेखि मुलुकभरको मौसम बदली भई केही स्थानमा वर्षा, हिमपात र बादल लागेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार रातिबाट नै सक्रिय भएको पश्चिमी वायुको प्रभाव आगामी बिहीबारबाट मात्रै हट्नेछ ।

सोमबार बिहान उपत्यकामा छिटफुट वर्षा भए पनि दिनभर घाम लाग्न सकेन । साँझ बाक्लु हुस्सु देखिँदा सवारी आवतजावतमै समस्या उत्पन्न भएको थियो । बाक्लो हुस्सुको कारण उपत्यकाको जनजीवन सोमबार प्रभावित बन्यो । आइतबार राति प्रवेश गरेको पश्चिमी वायुको प्रभाव उपत्यकासहित देशका धेरै ठाउँमा देखिएको र आगामी बिहीबारबाट खुल्ने मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन् ।

दिउँसो घाम नलागेका कारण चिसो बढेजस्तो महसुस भए पनि काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम भने बढेको छ । १६ पुसमा काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ०।८ डिग्री रहेकामा पुस १९ गते २।५ डिग्री सेल्सियस रह्यो । सोमबार भने न्यूनतम तापक्रम ९।५ डिग्री सेल्सियस पुगेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २०७७ पुष २१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्