२०७८ असोज १ गते शुक्रवार

भारतमा ‘कोभिशिल्ड’ कोरोना खोपले पायो आपतकालीन प्रयोग अनुमति



१८ पुस, नयाँदिल्ली ।

भारत सरकारको एउटा उच्चस्तरीय विशेषज्ञ समितिले सेरम इन्स्ट्ट्यिुट अफ इण्डिया(एसआईआई) द्वारा उत्पादित कोभिशिल्ड खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिएको छ ।

अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाद्वारा विकसित खोपलाई भारत सरकारको केन्द्रिय औषधि मापदण्ड नियन्त्रण संगठनअन्तर्गको विषयगत विज्ञ समितिले शुक्रबार आपत्कालीन प्रयोगका लागि अनुमति दिने निर्णय गरेको हो ।

यो निर्णयसँगै भारतमा खोपको आपत्कालीन प्रयोगको बाटो खुलेको छ । तर, यससम्बन्धी अन्तिम निर्णय भने भारतको औषधि नियन्त्रण महानिर्देशनालयले गर्ने जनाइएको छ । त्यसपछि भारतमा कोभिड–१९ विरुद्धको खोप प्रयोगको औपचारिक रुपमा बाटो खुल्ने छ ।

त्यसैगरी भारत बायोटेकद्वारा विकास गरिएको कोभ्याक्सिनको आपत्कालीन अनुमति दिने प्रक्रिया पनि अन्तिम चरणमा रहेको बताइएको छ । भारतमा आपत्कालीन अनुमतिका लागि हालसम्म फाइजर, सेरम र भारत बायोटेकले आवेदन दिएका थिए । बेलायतले सरकारले गत बुधबार मात्र अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाद्धारा विकसित उक्त खोपलाई प्रयोगका लागि अनुमति दिने निर्णय गरेको थियो ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार सेरमले अक्सफोर्ड–एस्ट्राजेनेकासँग मिलेर पाँच करोडभन्दा बढी डोज उत्पादन गरेर तयारी अवस्थामा राखेको छ । कम्पनीले महानिर्देशनालयको निर्णय आउनासाथ विभिन्न राज्यमा आपूर्ति गर्ने गरी कोल्ड स्टोरको चेनको व्यवस्था गरिसकेको बताइएको छ ।

भारत सरकारले आगमी जुलाई महिनासम्म ३० करोडभन्दा बढीलाई खोप दिने घोषणा गरिसकेको छ ।

प्रकाशित मिति : २०७७ पुष १८ गते शनिवार
प्रतिक्रिया दिनुहोस्