१५ पुस,दाङ ।
दाङमा चालू आर्थिक वर्ष २०७७/७८ मा १९ वटा नयाँ जलाशय निर्माण हुने भएका छन् । बृहत दाङ उपत्यका सिँचाइ आयोजना कार्यालय तुलसीपुरका अनुसार दुई वटा क्रमागत र १७ वटा थप नयाँ जलाशय निर्माण हुन लागेका हुन् ।
कार्यालयका प्रमुख राजु आचार्यका अनुसार घोराही उपमहानगरपालिकामा ५, तुलसीपुर उपमहानगरपालिमा ८, बबई गाउँपालिकामा एक, शान्तिनगर गाउँपालिकामा तीन र दङ्गीशरण गाउँपालिकामा दुई जलाशय निर्माण हुने भएका छन् । त्यसका लागि ३ करोड ६८ लाख रुपैयाँ बजेट विनियोजन भएको उहाँले बताउनुभएको छ ।
तुलसीपुर उपमहानगरपालिकाका लागि एक करोड ८९ लाख, घोराही उपमहानगरपालिकाका लागि ८६ लाख, बबई गाउँपालिकामा १० लाख, शान्तिनगर गाउँपालिकामा ६८ लाख र दङ्गीशरणमा २५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
जलाशय निर्माण भएपछि जिल्लामा ३० देखि ६० हेक्टर क्षेत्रफलमा सिँचाइ हुने अपेक्षा रहेको कार्यालयका सूचना अधिकारी शान्तराज गौतमले बताउनुभयो । दाङमा कार्यालय स्थापना भएदेखि ४१ जलाशय निर्माण भएका छन् ।।