२०७८ बैशाख ६ गते सोमवार

घोराहीमा युवाहरुलाई कपाल काट्ने तालिम दिन थालियो



१३ पुस,घोराही ।
कोरोनाका कारण विदेशबाट फर्किएका युवाहरुलाई स्वदेशमै रोजगारमा जोड्ने गरी घोराहीमा कपाल काट्ने तालिम दिन थालिएको छ । घोराही उपमहानगरपालिकाको समन्वयमा युएसएआईडीको आर्थिक सहयोग तथा व्याकवार्ड सोसाईटी एजुकेशन बेस द्धारा सञ्चालित तयार नेपालले कपाल काट्ने तालिम दिन थालेको हो ।

कोरोना संक्रमणका कारण बैदेशिक रोजगारीबाट फर्किएका दश जना युवाहरुलाई गाउँघरमै स्वरोजगार बनाउने उदेश्यले कपाल काट्ने तालिम दिन थालिएको बेसका निजी क्षेत्र विकास कार्यक्रम अधिकृत आशाराम चौधरीले जानकारी दिनुभयो ।

सात दिन सम्म सञ्चालन हुने तालिममा घोराही उपमहानगरपालिका वडा नम्बर १५, १७ र १८ का १० जना युवाहरु रहेका छन् । तालिमको सुभारम्भ गर्दै नगर प्रमुख नरुलाल चौधरीले थोरै लगानीमा धेरै आम्दानी हुने कपाल काट्ने पेशालाई व्यवसायीक बनाउन आग्रह गर्नुभयो ।

सिप र ज्ञानले मात्रै पेशालाई व्यवसायिक बनाउन सकिने भन्दै उहाँले तालिमलाई भविष्य सँग जोड्न सुझाब दिनुभयो । कपाल काट्ने पेशामा पछिल्लो समय स्थानिय युवाहरुको सहभागिता बढ्दै जानु सुखद भएको उहाँको भनाई छ ।

कार्यक्रममा तयार नेपालका सत्यनारायण विश्वासले युवाहरुलाई सिप सिकाउने र स्वरोजगार बनाउने गरि कार्यक्रम सञ्चालन गरेको उल्लेख गर्नुभयो । कार्यक्रमको सहजिकरण घोराही उपमहानगरको विपत् व्यवस्थापन शाखा प्रमुख उमेश शर्माले गर्नुभएको थियो । तालिमको प्रशिक्षकमा घोराहीमा लामो समय देखी कपाल काट्दै आउनुभएका बसन्त चौधरी र विपिन चौधरी रहनुभएको छ ।।

 

प्रकाशित मिति : २०७७ पुष १३ गते सोमवार
प्रतिक्रिया दिनुहोस्