२०७८ भाद्र ३१ गते बिहिवार

प्रचण्डलाई दिइएको कार्यकारी अधिकार खोस्ने



९ पुस,घोराही ।
प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली पक्षधर केन्द्रीय कमिटी बैठकले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिइएको कार्यकारी अधिकार खोस्ने निर्णय गरेको छ ।

ओली समूहको बालुवाटारमा आज बसेको केन्द्रीय कमिटी बैठकले प्रचण्डको कार्यकारी अधिकार खोस्दै ओलीलाई एकल रूपमा निर्णय तथा हस्ताक्षर गर्न सक्ने अधिकार प्रदान गरेको छ ।

बैठकले ७ वटै प्रदेशका संयोजक चयनगरेको छ । सुदूरपश्चिम संयोजकमा लेखराज भट्ट, कर्णालीमा मणि थापा, लुम्बिनीमा शंकर पोखरेल, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ, बागमतीमा ईश्वर पोखरेल, प्रदेश २ मा सत्यनारायण मण्डल र प्रदेश १ मा सुवास नेम्वाङलाई संयोजक तोकिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

यसैबीच प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षले पार्टीको विधान संशोधन गरेर निर्वाचन आयोगमा दर्ता गराएको छ । आज आयोगमा दर्ता गराइएको संशोधनमा पार्टीका आधिकारिक दस्तावेज र पत्रहरुमा प्रथम अध्यक्षको मात्रै हस्ताक्षर ’चल्ने’ बनाइएको छ ।

यसअघि नेकपाका दुवै अध्यक्षको हस्ताक्षर चल्ने व्यवस्था गरिएको थियो । संशोधित विधानबाट दुई अध्यक्ष रहने प्रावधान भने हटाइएको छैन । केन्द्रीय समितिको संख्या पनि ओली पक्षले निर्णय गरेर पु¥याएको ११ सय १९ लाई कायम गरिएको छ । ओली समूहले अस्ति नै निर्वाचन आयोग पुगेर केन्द्रीय कमिटी विस्तार गरेको जानकारी दिएको थियो ।।

प्रकाशित मिति : २०७७ पुष ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्