२०७८ साउन १६ गते शनिवार

संवैधानिक परिषदको बैठक स्थगित



३० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संवैधानिक परिषद्को बैठकमा सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित हुनु भएको छ ।

परिषद्का अध्यक्ष ओलीले बोलाएको बैठकमा सभामुख सापकोटा अनुपस्थित भएपछि गणपूरक संख्या पुगेन । आज बोलाइएको बैठकमा प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भने उपस्थित हुनु भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै छलफल नै नगरि बैठक बोलाएको भन्दै सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित हुनु भएको उहाँका प्रेस विज्ञ श्रीधर न्यौपानेले बताउनुभयो ।

संवैधानिक निकायमा पदपूर्ति गर्नुपर्ने जस्तो विषयमा छलफल गर्न कुनै तयारी नगरि बैठक बोलाएकाले सभामुख सापकोटा अनुपस्थित हुनु भएको न्यौपानेले बताउनुभयो । प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषद्मा प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभाका विपक्षी दलका नेता तथा उपसभामुख रहने व्यवस्था छ ।

उपसभामुख नरहेको र सभामुख सापकोटा बैठकमा नगएपछि गणपूरक संख्या पुग्न नसकेको हो । तयारी नपुगेर बैठकमा गएको बताइए पनि नेकपाभित्रको विवादका कारण सभामुख सापकोटा आजको बैठकमा अनुपस्थित भएको बुझिएको छ ।

यसअघि आइतबारका लागि बोलाइएको बैठकमा प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटा अनुपस्थित हुनेपछि स्थगित भएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोगलगायत संवैधानिक निकायमा विभिन्न पद खाली छ ।

यी पदपूर्तिका लागि भन्दै आजको बैठक बोलाइएको थियो ।

प्रकाशित मिति : २०७७ मङ्सिर ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्