२०७८ बैशाख २ गते बिहिवार

कपुरकोटमा उत्कृष्ट सेवा प्रवाह गर्ने आठ जना स्वयमसेवीका पुरस्कृत



२० मंसिर ।
उत्कृष्ट कार्य गर्ने महिला सामुदायीक स्वास्थ्य स्वयमसेवीकाहरुलाई सल्यानको कपुरकोट गाउँपालिकाले पुरस्कृत गरेको छ । १७ औँ राष्ट्रिय महिला स्वास्थ्य स्वयमसेवीका दिवसको अवसरमा शनिबार ८ जना स्वयमसेवीकाहरुलाई पुरस्कृत गरिएको गाउँपालिकाले जनाएको छ । पालिका भित्रको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन र आम नागरिकलाई प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्न महत्वपुर्ण भुमिका खेल्दै आएका स्वयमसेवीकाहरुलाई सम्मान संगै पुरस्कार प्रदान गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरुण दाहालले जनाए । जनही दुई दुई हजार रुपैयाँ सहित दोसल्ला र प्रमाणपत्रबाट उनीहरुलाई सम्मान गरिएको दाहालले जनाए । गाउँपालिकाका चार वटा स्वास्थ्य चौकीहरुमा छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरी महिला सामुदायीक स्वास्थ्य स्वयमसेवीकाहरुलाई सम्मान गरिएको हो ।

धनवाङ स्वास्थ्य चौकी कपुरकोटमा आयोजना गरिएको कार्यक्रममा वडा नं ३ का वडा अध्यक्ष तथा धनवाङ स्वास्थ्य चौकी संचालन तथा ब्यवस्थापन समितिका अध्यक्ष मिन बहादुर सेनले स्वयमसेवीकाहरुले निस्वार्थ भावका साथ अहोरात्र खटेर स्वास्थ्य जस्तो गम्भिर विषयमा पुर्याएको सहयोगको कदर गर्दै स्वास्थ्य स्वयमसेवीको मनोवल उच्च पार्न सबैले सकारात्मक भुमिका खेल्नुपर्ने बताए । यस्तै गाउँपालिकाका योजना तथा प्रशासन शाखा प्रमुख खगेन्द्र बहादुर शाहीले स्वास्थ्यको मेरुदण्ड स्वयमसेवीका नै भएकोले स्वास्थ्य स्वयमसेवीकाले अझै यो भन्दा बढी गम्भीर भई समाज सेवामा लाग्नु पर्ने र राज्यले उचीत सम्मान दिनुपर्ने बताए ।

धनवाङ स्वास्थ्य चौकीका प्रमुख देवेन्द्र कुमार सेनले सहजिकरण गरेको कार्यक्रममा पत्रकार महासंघ सल्यानका सचिव शंकर केसी, शिक्षा शाखा कपुरकोटका प्रमुख रमेश कुमार आचार्य, वडा नं १ का वडा सचिव विष्णु प्रसाद खनाल लगाएतको सहभागीता थियो । कार्यक्रममा आमा समुहको तर्फबाट टिका सेन, स्वयमसेविकाहरुको तर्फबाट मायाँ पुन, हिमा गिरी लगाएतले बोल्दै आफुहरुले भोग्नुपरेका समस्याहरुको बारेमा जानकारी गराएका थिए ।

 

 

 

 

 

प्रकाशित मिति : २०७७ मङ्सिर २० गते शनिवार
प्रतिक्रिया दिनुहोस्