२०७८ बैशाख ५ गते आइतवार

सुपथ मूल्यका पसल आगामी माघ २ गतेसम्म सञ्चालन गर्ने



८ मंसिर । चाडपर्वलाई ध्यानमा राख्दै सञ्चालित सुपथ मूल्यका पसल आगामी माघसम्म सञ्चालन हुने भएको छ । सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले माघ २ गतेसम्म पसल सञ्चालन गर्ने भएको हो ।

सरकारले खाद्य कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेसन र दुग्ध विकास संस्थानलाई गत असोज १५ देखि मङ्सिर ७ गतेसम्म सहुलियत मूल्यमा उक्त पसल सञ्चालनको अनुमति दिएको थियो ।

सरकारले दिएका समयमा कम्पनीको लक्ष्यानुसार सामग्री बिक्री नभए पनि कोरोना महामारीका समयमा खाद्य वस्तु अभाव हुन नदिन सहुलियत मुल्यका पसल सञ्चालनको अवधि थप गरिएको कम्पनीले जनाएको छ । कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेका अनुसार सरकारले तोकेको सहुलियत मूल्यमा नै माघ २ सम्म २९ वटै बिक्री केन्द्रबाट सहुलियत मूल्य पसल सञ्चालन हुनेछ ।

काठमाडौं उपत्यकाका पाँच स्थानसहित कम्पनीको शाखा कार्यालय रहेका जिल्लामा उक्त पसल सञ्चालन हुने कम्पनीले जनाएको छ । कम्पनीमा रहेका सामग्रीसहित साल्ट ट्रेडिङ कर्पोरेसनले दिएको चिनी बिक्री हुँदै आएको छ । काठमाडौं उपत्यकाका पाँच स्थानमा राखिएको सुपथ मूल्य पसलमा साढे १० हजार क्‍विन्टल खाद्यान्‍न बिक्री भएको सूचना अधिकारी न्यौपानेले जानकारी दिइन् । उनका अनुसार सुपथ मूल्यका पसलमा सबैभन्दा धेरै चामल बिक्री भएको छ ।

खाद्य कम्पनीले समय थप गरे पनि साल्ट ट्रेडिङ कर्पोरेसन र दुग्ध संस्थानले समय थपको कुनै निर्णय नभएको बताएका छन् । कर्पोरेसनका सूचना अधिकारी कुमारराज भण्डारीले सरकारले दिएको निर्देशनानुसार सुपथ मूल्यका पसल सञ्चालन गरिएको बताए । “चाडपर्वलाई ध्यानमा राख्दै सरकारले तोकेको समय र मूल्यमा पसल सञ्चालन गरिएको हो, सरकारको निर्देशन नआएसम्म सहुलियत मूल्यका पसल सञ्चालन हुँदैन,” उनले भने, “सरकारले दिएको छुटबाहेक कर्पोरेसनले काठमाडौं उपत्यकासहित विभिन्‍न जिल्लामा बाह्रैमहिना पसल सञ्चालन गर्दै आएको छ ।” सरकारले तोकेअनुसार खाद्य कम्पनीले माघ २ गतेसम्म रु १८ मा नुन, रु। ७० मा चिनी, रु। ८७० मा घिउ तथा प्रतिकिलो ५ रुपैयाँ छुटमा चामल, दाल, फापर, तीते फापर र सेतो केराउ बिक्री गर्नेछ ।

प्रकाशित मिति : २०७७ मङ्सिर ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस्