२०७८ मङ्सिर १६ गते बिहिवार

दाङमा बोक्सीको आरोप लगाउने ३ जना पक्राउ



२६ कात्तिक । दाङमा महिलालाई बोक्सीको आरोप लगाउने ३ जना पक्राउ परेका छन् । बोक्सी भन्दै गालीगलौज गरेको आरोपमा घोराही र तुलसीपुरबाट २ महिला र १ पुरुष गरी ३ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१६ की २८ वर्षीया दिपा बाठाँमगर र ४५ वर्षीया नौमती महरा रहेको प्रहरीले जनाएको छ । उनीहरुले कात्तिक २१ गते धामीझाँक्रीको भेषमा काम्दै सोही ठाउँकी महिलाको घरमा गई बोक्सी भन्दै गाली गलौज गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डीएसपी सुमित खड्काकाअनुसार पीडित महिलाले बोक्सी भन्दै गाली गलौज गरी आफ्नो इज्जत÷प्रतिष्ठामा आँच पु‍र्याएको भनी जाहेरी दिएपछि उनीहरु पक्राउ परेका हुन् । पक्राउ परेका दुई महिलामाथि थप अनुसन्धान भइरहेको उनले बताए ।

यस्तै कात्तिक १५ गते तुलसीपुर उपमहानगरपालिका–५ बस्ने ३० वर्षीया एक महिलालाई बोक्सी भन्दै गालीगलौज गरेको आरोमा सोही वडास्थित संगीतनगर टोल बस्ने देबबहादुर परियार पक्राउ परेका छन् । पीडित महिलाले दिएको जाहेरीमा देब बहादुरले हातपात समेत गरेको उल्लेख गरिएको प्रवक्ता खड्काले बताए ।

उनीमाथि पनि आवश्यक अनुसन्धान कार्य भइरहेको खड्काको भनाइ छ ।

प्रकाशित मिति : २०७७ कार्तिक २६ गते बुधवार
प्रतिक्रिया दिनुहोस्