२०७८ बैशाख ७ गते मङ्गलवार

खुलामञ्चमा तिहारपछि निःशुल्क खाना वितरण नगरिने



२१ कार्तिक । काठमाडौंको खुलामञ्चमा तिहारपछि निःशुल्क खाना वितरण नगरिने भएको छ । काठमाडौं महानगरपालिका र अभियान्ताहरुबीचको सहमतिअनुसार तिहारपछि खुलामञ्चसहित राजधानीका खुला स्थानमा निःशुल्क खाना वितरण नगरिने भएको हो ।

यसअघि काठमाडौं महानगरले खुलामञ्चमा खाना वितरण गर्ने कार्य रोक्न थालेपछि चौतर्फी आलोचना भएको थियो । अन्ततः खाना खुवाउने कार्यमा खटिएका अभियान्ताहरु र महानगरबीचको सहमतिमा अब तिहार पछि खुला मञ्चमा निःशुल्क खाना वितरण नगरिने भएको हो ।

शुक्रबार उनीहरुबीच भाइटीकाको भोलिपल्ट मंसिर २ गते सोमबारदेखि निश्चित स्थान पहिचान गर्ने वा प्याकेटमा मात्र खाना वितरण गर्ने सहमति भएको हो ।

उक्त सहमति पत्रमा हन्ड्रेड्स गु्रप, हाम्रो टिम नेपाल, हाम्रो सानो प्रयास, मानवी क्रिएटिभ एसोसियसन, गसिप क्वीनलगायतका अभियान–संघसंस्थाका प्रतिनिधि र महानगरका सहरी स्वास्थ्य महाशाखाका निर्देशक हरिबहादुर कुँवरसहितका अधिकारीहरुले हस्ताक्षर गरेका छन् । अभियान्ताहरुले खाना खुवाउने कार्य नभई व्यवस्थित गर्ने सहमति भएको प्रतिक्रिया दिएका छन् ।

गत चैत ११ गतेबाट लकडाउन भएपछि चैत १४ गतेदेखि थोरै संख्याबाट सुरु भएको निःशुल्क खाना खुवाउने कार्यक्रममा करिब सात सयबढी गरिब असहायले एकछाक भने पनि भेट भर्न पाएका थिए । खुलामञ्चमा खाना खान मजदुर, कोरोनाका कारण रोजगारी गुमाएकालगायतका मानिस जाने गरेका छन् ।

प्रकाशित मिति : २०७७ कार्तिक २१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्