२०७९ मङ्सिर १६ गते शुक्रवार

नेकपा विवाद झन पेचिलो बन्दै, दुवै अध्यक्ष आ–आफ्ना अडानमा



२१ कार्तिक । नेकपाका दुई अध्यक्ष प्रायः झगडा गर्छन्। कुनै बिन्दुमा पुगेपछि भेट्छन्। त्यहीँ विवाद गर्छन्। अडान राख्छन्। सम्बन्ध झन् चिस्याएर छुट्छन्। अहिले त्यही भइरहेछ।
पाँच दिनसम्मको आरोप–प्रत्यारोपबीच अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालले बिहीबार बालुवाटारमा करिब एक घण्टा भेटे। तर, छलफल गत शनिबारको भन्दा झन् बिथोलिएपछि त्यत्तिकै टुंगिएको बालुवाटार स्रोतले बतायो।

छलफलमा दुई अध्यक्षबीच केही विषयमा भनाभनै चल्यो। ती विषय थिए, बुधबार प्रधानमन्त्री ओलीले प्रदेश १ का आफूनिकट नेताहरूसँग गरेको जुम बैठक, त्यहाँ जनताको बहुदलीय जनवाद ९जबज० को पक्षमा चलाइएको बहस, मदन भण्डारी फाउन्डेसनलाई वडा तहसम्मै विस्तार गरेर लैजान दिइएको निर्देशन, एक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्रीले पदबाट राजीनामा दिँदै नदिने भनी दिएको मन्तव्य र प्रधानमन्त्रीबाट राजीनामा दिँदा देश नै बर्बादीमा जाने भनी दिएको अभिव्यक्ति।

यी विषयमा विवाद भएपछि दुई अध्यक्षबीच बिहीबारको छलफल लामो समय चल्न सकेन। दाहाल उठेर बालुवाटारबाट निस्किए। आफूमाथि पार्टी फुटाउन खोजेको आरोप लगाएको र बालुवाटारमा बसेर आफैँले फुटको गतिविधि गरेको भन्दै दाहालले प्रधानमन्त्री ओलीसँग आपत्ति जनाएका थिए। अहिले पार्टी बैठक बोलाउने र भदौ २६ मा स्थायी समितिले गरेको निर्णय कार्यान्वयन गर्ने विषय मात्रै आफूहरूले उठाए पनि राजीनामाको उठ्दै नउठेको विषय किन उठाएको भन्दै दाहालले ओलीसँग आपत्ति जनाएका थिए।

प्रधानमन्त्री ओलीले पनि आफूलाई सबै कुरा थाहा भएको भन्दै दाहाललाई खुमलटार र कोटेश्वरमा बसेर गुटगत भेला र बैठक गरिरहेको आरोप लगाए। ओलीले आफूलाई घेराबन्दीमा पार्ने प्रयास भइरहेको पनि बताए।

दाहालले पार्टी बैठकमै सबै कुरा राख्न आग्रह गरे पनि ओलीले त्यसको ठाडै इन्कार गरे। ‘प्रचण्ड कमरेड बैठक बसाउन पहल गर्ने भनेर बालुवाटार जानुभएको हो। तर, प्रधानमन्त्रीले बैठक बोलाउन मान्नु भएन’, दुई अध्यक्षको छलफलपछि दाहालले खुमलटारमा गरेको ब्रिफिङ सुनेका एक सचिवालय सदस्यले अन्नपूर्णसँग भने, ‘प्रधानमन्त्रीले बैठकको के काम छ र रु तपाईंहरूले आफ्नो काम गर्ने हो। मैले आफ्नो काम गर्ने हो भन्नुभएछ।’

दुई अध्यक्षको छलफलपछि दाहालसँग ब्रिफिङ सुन्न वरिष्ठ नेता माधव नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा, राष्ट्रियसभा दलका नेता दीनानाथ शर्मा, ऊर्जामन्त्री वर्षमान पुनलगायत खुमलटार पुगेका थिए।

प्रधानमन्त्री ओलीले भने पार्टी बैठक अगाडि दुई अध्यक्ष छलफलमा बसेर समझदारी बनाउनुपर्ने र त्यसपछि मात्र बैठक राखेर जान सकिने बताउँदै आएका छन्। उनले बुधबार मात्रै आफूले कुनै पनि हालतमा राजीनामा नदिने बताएका थिए। बिहीबार मन्त्रिपरिषद् बैठकमा पनि उनले सरकारविरुद्ध भित्र र बाहिर दुवैतिर अनेक तानावाना बुन्ने काम भइरहेको र त्यसको आफूले सामना गरेर षड्यन्त्र चकनाचुर पार्ने बताएका थिए।

‘अहिले राजनीतिक संकट छ। पार्टीभित्र र बाहिरबाट सरकारलाई असफल बनाउने कोसिस भइरहेको छ। अहिले पनि कोटेश्वरमा उहाँहरू ९प्रचण्ड र नेपाल० बसिरहनुभएको छ। घेराबन्दी छ। केही मन्त्रीले पनि के–के गरिरहनुभएको छ भन्ने हेरिरहेको छु। सबै खालका प्रयास सामना गरिन्छ, चकनाचुर पारिन्छ’, प्रधानमन्त्री ओलीले बिहीबारको मन्त्रिपरिषद् बैठकमा छोटो टिप्पणी गरेपछि बैठक एजेन्डामा केन्द्रित भएको एक मन्त्रीले बताए।

दाहाल–नेपालले पनि सम्भावित राजनीतिक घटनाक्रमका विषयमा बिहीबारै आफूनिकट कानुन व्यवसायीसँग छलफल गरेका थिए। बालुवाटारमा मन्त्रिपरिषद्को बैठक चलिरहँदा दाहाल र नेपाल पक्ष भने पेरिसडाँडास्थित जनसंगठनहरूको सम्पर्क कार्यालयमा नेपाल बारका पदाधिकारी र पार्टीनिकट कानुन व्यवसायी संगठनका आफूनिकट पदाधिकारीसँग छलफल गरिरहेका थिए। त्यसमा दाहाल, नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी समिति सदस्य देव गुरुङ र रघुजी पन्त सहभागी थिए।

नेपाल बार एसोसिएसनका अध्यक्ष चन्डेश्वर श्रेष्ठ, मुक्ति प्रधान, दीनमणि पोखरेल, रुद्र नेपाललगायत काननु व्यवसायी संवादका लागि पुगेका थिए। छलफलमा सहभागी प्रवक्ता श्रेष्ठले अन्नपूर्णसँग भने, ‘कोभिडको सन्दर्भमा अदालतको कामबारे के भएको हो रु न्यायपरिषद्को कुरा के हो रु बार एसोसिएसनले के गरिरहेको छ रु एउटा कोभिड केस आयो भने पनि अदालत नै बन्द हुने, यो राम्रो भएन भन्ने कुरामा उहाँहरूसँग हामीले ब्रिफिङ लिएका हौं। अरू त्यहाँ कुनै छलफल र बहस भएको होइन।’

सहभागी एक कानुन व्यवसायीले भने बार एसोसिएसनले सिफारिस गर्ने न्यायपरिषद्को रिक्त एक सदस्यका लागि कसलाई पठाउने भन्नेबारे पनि छलफल भएको बताए। ओली पक्षले महेश नेपाल र दाहाल—नेपाल पक्षले रामप्रसाद श्रेष्ठको नाम अगाडि सारेपछि त्यहाँ कसलाई सिफारिस गर्ने भन्ने विवाद छ।

थोरै समय त्यसमा छलफल गरेका नेताहरूले त्यसपछि भने प्रधानमन्त्रीले चाल्न सक्ने सम्भावित कानुनी कदमबारे जान्न चाहेका थिए। छलफलमा सहभागी मुक्ति प्रधानले अन्नपूर्णसँग भने, ‘हामी आफ्नै आन्तरिक विषयमा छलफल गर्न मात्र बसेका हौं। अन्य त्यस्तो केही छलफल भएको होइन।’

प्रधानमन्त्री ओलीसँगको संवाद सकारात्मक नभएपछि दाहाल बालुवाटारबाट निस्केर सीधै लैनचौरस्थित सभामुख अग्निप्रसाद सापकोटाको निवासमा पुगेका थिए। सभामुख सापकोटासँग दाहालले केहीबेर छलफल गरेका थिए। प्रधानमन्त्री ओलीले पनि दाहालसँगको छलफलपछि बालुवाटारमा आफूनिकट नेतासँग छलफल गरेका थिए। दुवै अध्यक्ष आ–आफ्ना अडानमा टसमस नभएपछि यसले अब नेकपालाई झन् पेचिलो विवादमा फसाएको छ।

प्रकाशित मिति : २०७७ कार्तिक २१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्