२०७८ मङ्सिर १६ गते बिहिवार

दुई घण्टादेखि बालुवाटारमा ओली–प्रचण्डबीच छलफल जारी



२० कार्तिक । पार्टीभित्र बिवाद बल्झिएको समयमा नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल चलिरहेको छ । ओली प्रचण्डबीच झण्डै साढे १२ बजेदेखि प्रधानमन्त्री निवासमा छलफल चलिरहेको छ ।

प्रचण्ड लगायत नेताहरुले पार्टीमा उत्पन्न समस्याको समाधानका लागि तत्काल सचिवालय बैठक बोलाउन माग गरेका छन् । ओलीसँगको भेटमा आफुले यही माग राख्ने प्रचण्डले नेताहरुसँग बताएका थिए । मंगलवारको टेलिफोन वार्तामा पनि प्रचण्डले यही अडान दोहोर्‍याएका थिए ।

गत शनिवारको भेटमा ओलीले सहमतिमा नआउने हो भने अलग अलग हिडौं भनेर प्रस्ताव गरेको प्रचण्डले आफू निकटका नेताहरुलाई बताएका थिए । आइतवार आफ्नै निवासमा भएको भेलामा प्रचण्डले ओलीबाट अलग अलग भएर जान प्रस्ताव आएको बताएपछि नेकपा विवाद उत्कर्षमा पुगेको थियो ।

आफूविरुद्ध पार्टीभित्र घेराबन्दी गरिएको आरोप लगाउँदै प्रधानमन्त्री ओलीले बुधवार एक कार्यक्रममा कुनै हालतमा राजीनामा नदिने बताएका थिए ।

प्रचण्डसँगको भेटअघि बालुवाटारमा भएको मन्त्रिपरिषद् बैठकमा ओलीले सरकारविरुद्ध फेरि षडयन्त्र शुरु भएकोले सामना गर्न तयार रहन मन्त्रीहरुसँग आग्रह गरेका थिए ।

प्रकाशित मिति : २०७७ कार्तिक २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस्