२०७८ बैशाख ६ गते सोमवार

मौसमी खोकीमा सचेत रहन चिकित्सकहरुको आग्रह



१७ कात्तिक । चिकित्सकहरुले कोरोना भाइरस संक्रमणको जोखिम रहेकाले मौसमी फ्लुका विरामीहरुलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।

अहिले अस्पतालहरुमा कोरोना संक्रमणको जोखिम रहेकाले मौसमी फ्लुको लक्षण देखिएका बिरामीहरुलाई घरेलु उपचार गरी घरमै बस्न चिकित्सकहरुले आग्रह गरेका हुन् । हरेक अस्पतालका आइसियु बेडहरु कोरोनाका बिरामीले भरिएको चिकित्सकहरुको भनाई छ ।

मौसम परिवर्तन सँगै मौसमी फ्लुका लक्षणहरु देखिएका व्यक्तिहरुले घरमै बसेर सुरक्षित रहन अल्का अस्पतालमा कार्यरत फिजिसियन डा.रक्षा गौतमले बताउनुभयो ।

सामान्य रुघाखोकी लाग्ने, सामान्य जिउ दुुख्ने र घाँटी दुःख्ने समस्या सामान्य फ्लु भएकाले डराउनुपर्ने अवस्था नभएको उहाँले बताउनुभयो । सामान्य रुघाखोकी लाग्दैमा हतार हतार अस्पताल गएर अस्पतालबाट आफूलाई नभएको फ्लु समेत लिएर जाने सम्भावना रहेकाले सचेत रहन उहाँले आग्रह गर्नुभयो ।

रोग प्रतिरोधात्मक क्षमता भएका व्यक्तिहरुले केही हप्तामा कोरोना जितेपनि दीर्घरोगी, बालक तथा वृद्धवृद्धाहरुको ज्यान समेत जाने घटनाहरु बढिरहेको उल्लेख गर्दै उहाँले कोरोनालाई हल्का रुपमा नलिन पनि आग्रह गर्नुभयो ।

प्रकाशित मिति : २०७७ कार्तिक १७ गते सोमवार
प्रतिक्रिया दिनुहोस्