२०८० चैत्र १६ गते शुक्रवार

दाङमा कडा कुपोषणको संख्या बढ्यो



४ असोज,घोराही – दाङमा कडा कुपोषणको संख्या बढेको स्वास्थ्य कार्यालय दाङले जनाएको छ । दाङका दश स्थानीय तहमा रहेका १४ वटा कुपोषण बहिरंग उपचार केन्द्रबाट संकलन गरिएको तथ्यांक अनुसार पछिल्लो वर्षमा अकल्पनीय रुपमा कडा कुपोषण देखा परेको छ । स्वास्थ्य तथा  जनचेतनाका कार्यक्रम भएपनि शिशुहरुको पोषणमा अहिले पनि चुनौति रहेको देखिएको हो ।

२३ महिनासम्मका पहिलो पटक वृद्धि अनुगमनमा आएका मध्ये कुपोषित  अर्थात जोखिम र अति जोखिम बालबालिकाको संख्या अनुसार घोराहीमा १ सय ८१, तुलसीपुरमा १ सय ९४, लमहीमा १ सय २, राप्तीमा ४१, गढवामा ४१, राजपुरमा ३२ जना शिशुमा कडा खालको कुपोषण फेला परेको छ । यस्तै,  बंगलाचुलीमा २१, शान्तिनगरमा ६२,  दंगीशरणमा १ सय ५१ र बबईमा ८२ जना गरी  जिल्लाभर कुल ९ सय ७ शिशुमा कडा खालको कुपोषण देखा परेको स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।

यस्तै, कम जन्म तौल भएका नवजात शिशुको प्रतिशत पनि निराशाजनक देखिएको छ । जस अनुसार, जिल्लामा आर्थिक वर्ष २०७६–०७७ मा ४ दशमलव  ३ प्रतिशत रहेकोमा यो बढेर आर्थिक वर्ष २०७७–०७८ मा ४ दशमलव ९ मा पुगेको छ । यस्तै, आर्थिक वर्ष २०७८–०७९ मा अझ बढेर ५ दशमलव ६ प्रतिशतमा पुगेको  तथ्यांकले देखाएको छ । जबकी यो अवस्था कम हुँदै कम्तिमा १ प्रतिशत मुनि हुनुपर्ने स्वास्थ्य कार्यालय दाङका  प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत अंगदबहादुर शाहीले बताउनुभयो ।

यसैगरी, नयाँ तौल लिएका २ वर्ष मुनिका शिशुहरु मध्ये अति जोखिम अवस्थाका बालबालिकाहरुको प्रतिशत पनि खस्किँदै गएको छ । जसअनुसार, आर्थिक  वर्ष २०७६–०७७ मा ३ दशमलव २ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७७–०७८ मा केही सुधार हुँदै २ दशमलव ४ मा झरे पनि फेरी  आर्थिक वर्ष २०७८–०७९ मा यो अवस्था चुनौतिपूर्ण बनेको छ । यस आर्थिक वर्षमा अति जोखिम अवस्थाका बालबालिकाहरुको प्रतिशत बढेर ४ प्रतिशत पुगेको उहाँले बताउनुभयो ।।

प्रकाशित मिति : २०७९ असोज ४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्