२०७८ मङ्सिर १३ गते सोमवार

पशु कार्यालयद्वारा यस वर्षको कार्यक्रम सार्वजनिक



घोराही,५ कात्तिक । भेटनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रले चालु आर्थिक बर्ष २०७७/०७८ का लागि बार्षिक कार्यक्रम सार्वजनिक गरेको छ । कोभिड–१९ का कारण केन्द्रले ढिलो गरी कार्यक्रम सार्वजनिक गरेको हो । कार्यालय प्रमुख डा. वेद बहादुर केसीले चालु तथा पँुजिगत गरि नौ करोड २१ लाख ४० हजारको बार्षिक बजेटका बिभिन्न कार्यक्रम रहेको जानकारी गराउनुभयो ।

कार्यालयले स्मार्ट कृषि गाउँ कार्यक्रम देखि सेवा टेवा विस्तार कार्यक्रमहरु समेटेको छ । चालु वर्षमा पशुपन्छी विकास तथा पशु स्वास्थ्य नियमन कार्यक्रमका लागि ४० लाख १४ हजार रुपैँया बजेट निर्धारण गरेको छ । यो कार्यक्रममा खोरेत रोग उन्मुलन अभियान प्रारम्भ, पशुपन्छी तथा मत्स्य नियमन कार्यक्रम समावेश छन् । यस्तै स्मार्ट कृषि गाउँ कार्यक्रमका लागि दुई करोड ४६ लाख १० हजार, कृषि तथा पशुपन्छी स्रोत तथा प्रविधि सेवाटेवा विस्तार कार्यक्रमका लागि एक करोड १७ लाख ४५ हजार, अभियान मुखी मिसन कार्यक्रमका लागि एक करोड २९ लाख ५० हजार वजेट रहेको कार्यालय प्रमुख डा. केसीले जानकारी गराउनुभयो ।

यस्तै मत्स्य विकास तथा प्रवद्र्धन कार्यक्रमका लागि १३ लाख ९८ हजार, कृषि उत्पादन, खाद्य तथा पोषण सुरक्षा कार्यक्रमका लागि दुई करोड ३० लाख, ४० हजार रुपैँया बजेट छ । यो कार्यक्रम अन्तर्रगत चक्ला बन्दी सहितको नमुना फार्म स्थापना, प्रतिफलमा आधारित प्रोत्साहन अनुदान, घाँस स्रोत केन्द्र स्थापना, पोषण सुधारका लागि ग्रामिण कुखुरा पालन कार्यक्रम, आयमुलक कृषि बन कार्यक्रम लगाएतका कार्यक्रम रहेका छन् । साधारण कार्यक्रममा एक करोड ४३ लाख ८३ हजार रुपैँया बजेटको व्यवस्थापन छ ।

केन्द्रको बार्षिक बजेट सार्वजनिक कार्यक्रममा लुम्विनी प्रदेशका सांसद अमर डाँगीले नेपालका अधिकांश जनसंख्या कृषि व्यवसायमा आवद्ध भएपनि उत्पादन कम हुने गरेकाले अव सरकारी निकायबाट विशेष योजना बनाउनुपर्ने बताउनुभयो । अन्य देशमा कृषिमा थोरै जनशक्ति हुँदा पनि उत्पादन प्रयाप्त हुने गरेपनि नेपालमा भने जनशक्ति धेरै हुने तर उत्पादन नहुने समस्या भएको बताउनुभयो ।

कृषिको क्षेत्रमा गरिएका परिकल्पना अनुसारका काम तथा कार्यक्रम नहुँदा यो समस्या देखिएको उहाँको भनाई छ । ज्ञान, शिप, प्रबिधि, उत्पादन र बजार को तालमेल नमिल्दा कृषिमा गरिएको परिकल्पना पुरा नभएको उहाँको भनाई छ । ‘नेपालको कृषि क्षेत्रमा अहिले पनि प्रबिधि अपनाउन सकिएको छैन्, कृषकलाई ज्ञान छैन्, यो काम गर्न सकिएन, उत्पादन हुन सकेको छैन्, भएको उत्पादनको बजार व्यवस्थापन हुँदैन् ।’–उहाँले भन्नुभयो । यी कुराहरुलाई जोड्न सके परिकल्पना पुरा गरिने उहाँको भनाई छ । कृषि क्षेत्रमा बिनियोजन गरेको बजेट फ्रिज हुनु अर्काे समस्या भएको पनि उहाँले बताउनुभयो । “बिनियोजित रकम खर्च हुँदैन्, यसलाई पनि ख्याल गर्नुपर्छ” सांसद् डाँगीले भन्नुभयो ।

यस्तै अर्का प्रदेश सांसद इन्द्रजित थारुले कृषिमा प्राथमिकताका साथ बजेट बिनियोजन गर्नुपर्ने बताउनुभयो । कृषकलाई तालिमको व्यवस्थापनका साथै अनुदान तथा व्याज अनुदानको कार्यक्रमका बिषयमा समयमै सुचना दिनपर्ने बताउनुभयो । कृषिका कार्यक्रमहरु नयाँ ठाउँमा बिस्तार गर्नुपर्ने, रेशम खेतीलाई नयाँ आधुनिक तरिकाले अगाडी बढाउन आवश्यक भएको बताउनुभयो ।

यस्तै प्रदेश सांसद् धमकली चौधरीले कृषिका कार्यक्रमका बजेटलाई कार्यान्वयन गर्न नसकिएको गुनासो गर्नुभयो । कार्यक्रमको योजना अनुसारका काम हुन नसकेको उहाँको भनाई थियो । विगतका बर्षमा स्मार्ट कृषि गाउँ कार्यक्रमका लागि आएको बजेट फिर्ता भएको भन्दै गुनासो गर्नुभयो । कृषकहरु उत्साहीत हुँदा पनि समन्वय गर्ने कार्यालयको उदाषिनताका कारण कार्यक्रम कार्यान्वयन नभएको बताउनुभयो । यस्तै कृषले उत्पादन गरेको प्रत्येक कृषि बस्तुको बजार मुल्य तोक्नुपर्ने बताउनुभयो । बजार मुल्य नतोकिदा कृषकहरु ठगिएको भन्दै यो काम तत्काल हुनुपर्ने भनाई राख्नुभएको हो ।

कार्यक्रम भेटनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रका प्रमुख डा. वेद बहादुर केसीको अध्यक्षतामा भएको थियो । मत्स्य विकास अधिकृत महेन्द्र यादवको स्वागतवाट सुरु भएको कार्यक्रमको संचालन केन्द्रका भरत देवकोटाले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७७ कार्तिक ५ गते बुधवार
प्रतिक्रिया दिनुहोस्