कार्तिक २, दाङ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध आफ्नै पार्टीका सांसदले दर्ता गरेको अविश्वास प्रस्ताव सम्बन्धमा सत्तारुढ दल नेकपा कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्षबीच भएको छलफल विनानिष्कर्ष टुंगिएको छ ।
कर्णाली प्रदेश संसदीय दलमा देखिएको विवाद सुल्झाउन प्रधानमन्त्री तथा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलबाट कुनै निष्कर्ष निस्कन सकेन ।
यस विषयमा प्रधानमन्त्री ओलीले शनिबार कर्णालीका मुख्यमन्त्री शाही, नेकपाका कर्णाली सह–इन्चार्ज यामलाल कँडेलसहित दुवै पक्षसँग छलफल गरेका थिए । अध्यक्ष प्रचण्डले पनि बिहीबार र शुक्रबार कर्णालीका दुवै पक्षलाई बोलाएर छलफल गरेका थिए ।
शनिबार बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले पार्टीका दुई अध्यक्ष बसेर सहमति निकाल्ने र त्यो सहमति सबैले मान्नुपर्ने बताएका थिए ।
सोहीअनुसार दुईजना अध्यक्ष ओली र प्रचण्ड आइतबार छलफलमा जुटेका हुन् । तर, कर्णालीका विषयमा छलफल जारी राख्ने भन्दै बैठक टुंगिएको नेकपा अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिए । उनले भने, ‘कर्णालीका विषयमा दुई अध्यक्षबीच छलफल चल्यो । यद्यपि, आजको बैठकबाट कुनै निष्कर्ष भने निस्कन सकेन । छलफललाई पुनः निरन्तरता दिनुपर्ने निष्कर्षसहित आजको बैठक सकिएको छ ।’
गत असोज २५ गते कर्णाली प्रदेश नेकपा संसदीय दलका १८ जना सांसदहरूले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दलमा दर्ता गरेका थिए । त्यसपछि नेकपा कर्णाली प्रदेशमा देखिएको तरंगले नेकपा केन्द्रलाई समेत असर गरेको छ ।
सोही विषयमा अध्यक्षद्वयले दुवै पक्षलाई असोज २९ गते छलफलका लागि काठमाडौं डाकेका थिए । तर, अहिलेसम्म उक्त विषयमा समस्याको समाधान भने, निस्कन सकेको छैन ।