२०७८ बैशाख ६ गते सोमवार

दाङमा यसवर्ष मकै उत्पादनमा बृद्धि



 

घोराही, ३० असोज । यस बर्ष जिल्लामा मकै उत्पादनमा बृद्धि भएको छ । कृषि ज्ञान केन्द्र दाङका अनुसार मकै उत्पादन बढेको हो । मकै खेतीका लागि समयमै पानी परेको तथा मल वीउ प्रयाप्त भएका कारण उत्पादनमा बृद्धि भएको हो । कोरोना संक्रमणका कारण भएको लकडाउनका कारण खेती बढेकाले पनि उत्पादन बढेको कृषि ज्ञान केन्द्रको भनाई छ ।

लकडाउनका कारण भारत लगाएत तेस्रो मुलुकवाट नागरिकहरु गाउँ फर्केपछि मकै खेतिको क्षेत्रफल समेत बढेको हो । उत्पादन क्षेत्रफल तथ्याङ्क बाहेकका टुक्रा जमिनमा समेत खेति गरिएको थियो । घरायसी प्रयोजनका लागि मकै रोपिएका थिए । पहिले प्लटिङ गरिएका जमिनमा समेत मकै लगाइएको थियो । विगतका बर्षमा अधिकांस बाझो जमिन हुने ठाउँमा उत्पादन भएको हो । स–साना टुक्रा जमिनमा खेती गरिएको थियो ।

कृषि ज्ञान केन्द्रका अनुसार यसबर्ष जिल्लामा ३५ हजार छ सय ५६ मेट्रिक टन मकै उत्पादन भएको छ । जिल्लाको कुल २३ हजार चार सय ५८ हेक्टर जमिनमा खेती गरिएको थियो । गतबर्ष ३५ हजार चार सय १० मेट्रिक टन मकै उत्पादन भएको थियो । गतबर्षको तुलनामा यसबर्ष दुई सय ४६ मेट्रिक टन बढी मकै उत्पादन भएको कृषि ज्ञान केन्द्र दाङका कृषि अर्थबिज्ञ उमेश चन्द्र श्रेष्ठले जानकारी गराउनुभयो । सही समयमा मकै खेती गरिएकाले उत्पादन भएको अर्थ बिज्ञ श्रेष्ठको भनाई छ ।

दाङको गढवा गाउँपालिका­ ७ मोतीपुरका चोकनाथ चौधरीले गत बर्षको भन्दा यसबर्ष मकै वाली राम्रो भएको बताउनुभयो । चौधरीले करीब एक विगाहा जमीनमा मकै खेती गर्नुभएको थियो । गत वैशाख महिनामा बसन्ते मकै र हालै तयार भएको वर्षे मकैको उत्पादन बृद्धि भएको उहाँको भनाई छ । सोही ठाउँका रामबहादुर चौधरीको पनि मकैवाली सप्रिएको छ । उहाँको वैशाखमा बसन्ते मकै ३० क्वीन्टल र वर्षे मकै २५ क्वीन्टल उत्पादन भएको बताउनुभयो । सतबरिया टोलमा मात्र करिब ८० विगाहमा मकै खेती हुनेगरेको छ । देउखुरीमा मकै सुपरजोन कार्यक्रम लागू भएपछि कृषकहरुले तीन बाली लगाउने गरेका छन् । यसबाट आम्दानी समेत गर्ने गरेका छन् ।

यस्तै जिल्लाका दाङ लगाएत देउखुरीका कृषकहरुले मकै उत्पादन बढेको बताएका छन् । जिल्लाका कतिपय ठाउँमा भने यस बर्ष बर्षातको पानीले मकै बालीमा नष्ट गरेको थियो । घोराही उपमहानगरपालिका वडा १२ का गुर्जे लगाएत सिस्नेरीका पुरै गाउँमा मकै वालीमा बर्षातको पानीले क्षती पु¥याएको थियो । यस्तै अन्य केही ठाउँमा बर्षातको पानीले मकैमा क्षती पु¥याएको थियो । सलह किराका कारणले गर्दा पनि केही स्थानमा मकैमा क्षति पुगेको थियो ।

फाईल फोटा

प्रकाशित मिति : २०७७ असोज ३० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्