२०७८ असोज १ गते शुक्रवार

भालुवाङ नगर विकास समितिका कर्मचारीहरुको बदमासी, एउटै घडेरी दुई व्यक्तिको नाममा फेला



भालुवाङ,२७ असोज । भालुवाङ नगर विकास समितिमा कार्यरत कर्मचारीहरुले स्थानीयहरुलाई ब्यापक ठगी गरिरहेको खुलासा भएको छ । घटना बिबरण अनुसार उक्त नगर विकास समितिको सेवा क्षेत्रभित्र पुल्चोक बजारमा घर घडेरी भएका खुसलबहादुर कुमालले २०५८ सालमा स्थानीय मनमाया थापा संग दुई लाख पचास हजार मूल्य तिरेर अन्दाजी एक कठ्ठा घडेरी र सोही घडेरीमा बनेको टिनको छाना भएको घर समेत खरिद गरेका थिए ।
नगर विकास समितीले २०६२ सालमा ३०५ रुपैयाँको भोगाधिकार रसिद स्थानीयहरुलाई उपलब्ध गराउँदा निज खुसल कुमाललाई साढे ११ धुर मात्रको रसिद थमाइ दिएका थिए । यसो किन गरेको भन्दा उक्त नगर विकास समितीमा कार्यरत प्रशासन खरिदार बिनोद भुसालले टेर्दै टेरेनन् उल्टै मौरीघाट निवासी यमकला चौधरी थापालाई निज कुमालकै जग्गा जबजस्ती हड्प्न लगाई घर बनाउन लगाए । पिडित कुमालले नगर विकास कार्यालय र स्थानीयहरु संग हारगुहार गर्दा सुनवाई भएन । कुमालले भालुवाङ नगर विकास समितीका हालका अध्यक्ष तथा राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीलाई सम्बोधन गरी नगर विकास समितिमा आफ्नो घर घडेरी कब्जा गर्नेलाई हटाई पाउँ भनि निवेदन लिएर नगर विकास समितीको कार्यालयमा पुगे । उक्त निवेदनमा नगर विकास समितीका अध्यक्ष तथा गाउँपालिकाका अध्यक्ष सुवेदी कार्यकक्षमा थिएनन् । प्रशासन खरिदार विनोद भुसालले मर्यादा बिपरीत र कानुन बिपरीत उक्त निवेदनको शिरमा यो निवेदन दर्ता गरी फिल्ड जाँच गरी राय पेस गर्नु भनेर तोक लगाई आफै दस्खत गरेका छन् ।
अझै रहस्यमय त के पाइएको छ भने हालका अध्यक्ष तथा राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले उक्त कुमालको घरघडेरी हड्प्ने चौधरीलाई कार्वाही गर्नुको साटो चोर दुलोबाट अथवा गैर कानुनी ढंगबाट ३०५ को रसिद कायम गरी घरघडेरी कायम गरी पाउँ भन्ने निवेदनमा तोक समेत लगाई यही असोज ३ गतेका दिन भोगाधिकार रसिद समेत उपलब्ध गराएका छन् । स्मरण रहोस् देशभरका नगर विकास समितीहरुमा पदाधिकारी चयन गर्दा राजनैतिक नियुक्ति गर्ने गरिन्थ्यो । सरकारले उक्त नियमलाई खारेज गरी स्थानीयतहका मेयर वा पालिकाका अध्यक्षहरुलाई सम्बन्धित नगर विकास समितीका अध्यक्ष कायम गर्ने नियम लागु गरेको छ ।
भालुवाङ नगर विकास क्षेत्रभित्र पर्ने विशाल पुल्चोक बजार, पुरानो भालुवाङ बजारको केहि भाग र पाखापानीको केहि भागमा करिव ३१ विगाह क्षेत्रफलमा बनेका स्थानीय बासिन्दाका महल तथा घरहरुको धनीपुर्जा छैन । सवै घरघडेरी भोगाधिकार भित्र रहेका छन् । यिनै महल घरहरुको हालै भालुवाङ नगरविकास समितिले कोरोना महामारीबाट देश लकडाउन भएको अवस्थामा पनि विहान साँझको जोहो गर्न मुस्किल परेका स्थानीय नगरबासीहरुबाट झण्डै करोडको हाराहारीमा कर उठाएको छ । खुशल कुमालको घटना एउटा प्रतिनिधी पात्र मात्र हो । भालुवाङ नगरविकास समितिमा विगत देखि वर्तमान सम्म नेतृत्वमा रहेका अध्यक्षहरु र त्यहाँ कार्यरत कर्मचारीहरुले यस्तै सयौं प्रकारका भ्रष्ट कार्य गरेका उदाहरणहरु छन् ।

प्रकाशित मिति : २०७७ असोज २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्