५ पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको छ ।
बालुवाटारमा बसेको बैठकले ओलीले लोकतन्त्रविरोधी र निरङ्कुश कदम चालेकाले उहाँलाई कारबाही गर्ने निर्णय गरेको कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले जानकारी दिनुभयो ।
ओलीलाई कारबाही गर्ने निर्णय ७ गते बस्ने केन्द्रीय समितिको बैठकमा पेस गरिने पनि उहाँले जानकारी दिनुभयो । १० गते बस्ने भनिएको केन्द्रीय समितिको बैठक ७ गतेलाई बोलाइएको छ ।
यस्तै पूर्वसभामुख कृष्णबहादुर महरालाई स्थायी कमिटीको सदस्यमा नियुक्त गर्ने पनि बैठकले निर्णय गरेको छ ।
पछिल्लो घटनाक्रमका बारेमा छलफल गर्न ६ गते सोमबार संसदीय दल र स्थायी कमिटीको बैठक बोलाइएको पनि नेतृ शाक्यले जानकारी दिनुभयो ।
स्थायी कमिटीको आजको बैठकमा ओली पक्षका कुनै पनि नेताको सहभागिता थिएन ।