४ मंसिर,घोराही –
दाङमा नियम विपरित सवारी चलाउने क्रम रोकिन सकेको छैन् । एक महिनाको अवधिमा ट्राफिक नियम उल्लंघन गरेर सवारी चलाउने ४ हजार २ सय सवारी चालक कार्बाहीमा परेका छन् । कार्तिक महिनामा नियम विपरित चलेका सवारी साधनलाई कार्बाही गरिएको हो ।
सिट क्षमताभन्दा बढी सवारी राख्ने, सिट बेल्ट नबाँधेर सवारी चलाउने, सवारी चलाउँदा फोनमा व्यस्त हुने, मादक पदार्थ सेवन गरेर सवारी चलाउने , तिब्र गतिमा सवारी चलाउने, सावरी चालक अनुमतिपत्र बिना सवारी चलाउने र साथमा सवारी साधनको कागजपत्र नबोक्ने सवारी चालकलाई कार्बाही गरिएको जिल्ला ट्राफिक प्रमुख थम्मन जिसीले जानकारी दिनुभयो ।
कार्बाही पर्नेमा सबैभन्दा बढी मोटरसाइकल चालक रहेका छन् । गत महिनामा मोटसाइकल १ हजार ५७६, बस ५२६, ट्रक ८९३, जिप÷कार ४७१, ट्याक्टर ३३८ र अटोचालक ३ सय ९७ जना कार्बाहीमा परेका छन् ।
सबैभन्दा बढी क्षमताभन्दा बढी यात्रु तथा सामान बोक्ने सवारी साधनलाई कार्बाही गरिएको हो । मोटरसाइकल सवारी चालक अधिकांशले सवारी चालक अनुमति पत्र नबोक्ने गरेको ट्राफिक प्रमुख जिसीले जानकारी दिनुभयो ।
यस्तै मापसे गर्ने ९२ सवारी चालकलाई कार्बाही गरिएको छ । ट्राफिक नियम उल्लंघ गर्ने सवारी साधनबाट २५ लाख ९८ हजार ५ सय राजश्व संकलन गरिएको छ ।।