५ मंसिर । घोराही उपमहानगरपालिकाले यही मंसिर ७ गते देखि विद्यालयहरु सञ्चालन गर्ने भएको छ । उपमहानगरको शिक्षा समितिको आज बसेको बैठकले २०७७ कार्तिक २० को मन्त्रीस्तरीय निर्णयबाट स्विकृत कोरोना सन्दर्भमा विद्यालय सञ्चालन कार्यढाँचा अनुसार विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो ।
यस अघि विद्यालयमा सिकाइ सहजिकरणको नाममा सिकाइ केन्द्र चलेका थिए । समितिका संयोजक एवं नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा बसेको बैठकले मंसिर ७ गते देखि विद्यालय सञ्चालन गर्ने र एक बेन्चमा २ विद्यार्थी मात्रै राखेर शिक्षण सिकाई क्रियाकलाप गर्ने निर्णय गरेको छ ।
त्यसैगरी, ७ गते देखि नै बसहरुले विद्यार्थी बोक्ने र बसहरु भएका विद्यालयले विद्यार्थी बोक्दा सिटमा मात्रै सिमित विद्यार्थी राख्ने र खेपसार गरेर सञ्चालन गर्ने,विहान साढे १० देखि अपरान्ह साढे ३ बजे सम्म विद्यालय स्ञ्चालन गर्ने तथा आबस्यक स्वास्थ्य सुरक्षामा विद्यालय, विद्यार्थी र अभिभाबकले विषेश ध्यान दिने निर्णय भएको छ ।
बैठकले सामाजिक विकास समितिका संयोजक भरतमणि अर्यालयको संयोजकत्वमा शाखा अधिकृत एवं नगर शिक्षा समितिका सदस्यहरु नारायणप्रसाद पौडेल, ज्ञानेन्द्र गौतम, निशान्त आचार्य र माया रावत सदस्य रहेको विद्यालय अनुगमन समिति गठन गरेको छ ।
त्यसैगरी शान्तिनगर गाउँपालिकामा पनि ७ गते आइतबार देखिनै विद्यालय खुल्ने भएका छन् । गाउँपालिकाले आज एक सूचना जारी गर्दै तिहार अघि अनिश्चितकाका लागि बन्द भएको विद्यालय ७ गतेदेखि खुल्ले जनाएको छ ।