५ मंसिर । बलिवुड अभिनेता अक्षयकुमारले आफूमाथि लगाइएको आरोपका विषयमा कानुनी लडाई लड्न अगाडी आएका छन् । अक्षयकुमारले राशिद सिद्दिकी नाम गरेका युट्युबरलाई ५ सय करोडको मानहानी मुद्धा दायर गरेका छन् ।
युट्युबर राशिदले अभिनेता सुशान्त सिंह राजपुतको मृत्युसँग जोडिएको एक फेक भिडियो बनाएर पोष्ट गरेका थिए । जुन भिडियोमा सुशान्तको मृत्यु प्रकरणमा अक्षयकुमारले अभिनेत्री रिया चक्रवर्तीलाई सहयोग गरेको उल्लेख गरिएको छ ।
यस भिडियोमा गलत आरोप लगाएको भन्दै अक्षयकुमारले युट्युबरविरुद्ध मानहानीको मुद्धा दायर गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
सो भिडियोमा सुशान्तले महेन्द्र सिंह धोनीको जीवनीमा आधारित फिल्म पाएपछि अक्षयकुमार खुशी नभएको दाबि गरिएको छ । त्यस्तै सुशान्त प्रकरणमा रियालाई क्यानाडा पठाउने योजना बनाएर अक्षयकुमारले सहयोग गरेको बताइएको छ । साथै सो भिडियोमा सुशान्त प्रकरणमा अक्षयकुमारले महाराष्ट्रका मुख्यमन्त्री उद्दव ठाकरे र उनका छोरा आदित्य ठाकरेसँग गोप्य कुराकानी गरेको उल्लेख गरिएको छ ।
बिहारका राशिद पेशाले सिभिल इन्जिनियर रहेको बताइएको छ । उनले चार महिनामा यो भिडियोबाट करिब १५ लाख कमाई गरेको बताइएको छ । २५ बर्षका युवा राशिदले एफएफ न्युज नामबाट युट्युब च्यानल चलाउदै आएका छन् ।
प्रहरीले सुशान्त प्रकरणमा फर्जी खबर फैलाएको आरोप लगाउदै गिरफ्तार गरिसकेको छ । उनले प्रहरीलाई फर्जी खबर फैलाएर आफ्नो युट्युब च्यानलको फलोअर्स बढाउन प्रयोग गरेको बयान दिएका छन् ।