४ असोज,घोराही –
लुम्बिनी प्रदेशमा अघिल्लो सरकारले सुरु गरेका साढे ५२ करोड रुपैयाँ बढी लगानीका २१९ वटा सडक आयोजना खारेज भएका छन् । केपी शर्मा ओली नेतृत्वको सरकारले सुरु गरेका एक हजार ४०० वटाभन्दा बढी सडक आयोजना बजेट अध्यादेश प्रतिस्थापन विधेयकमार्फत कटौती भएपछि लुम्बिनीमा सडक आयोजनाका लागि आएको ५२ करोड ५६ लाख रुपैयाँ बजेट गुमेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले अघिल्लो सरकारले तय गरेका सडक आयोजना खारेज गरेपछि रूपन्देहीका मात्र ४९ वटा सडक खारेजीमा परेका हुन् । यसैगरी दाङका ३४, बाँकेका २९, प्युठानका १४, कपिलवस्तुका ३३, पाल्पाका २३, गुल्मीका ३६ र रुकुम पश्चिमको एउटा सडक योजना खारेजीमा परेका छन् ।
नयाँ सरकार बनेपछि अघिल्लो सरकारले ल्याएको बजेटमा संशोधन गर्दै अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयक ल्याएउनुभएको थियो । प्रतिस्थापन विधेयकबाट नै यी सडक आयोजना बजेट नभएको भन्दै खारेज गरिएको हो । अघिल्लो सरकारले सडकका लागि तीन अर्ब ४९ करोड ७० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।।