२०८१ असोज २४ गते बिहिवार

बजेट अपुग भएपछि बन्दै गरेको भवन अधुरै



४ भदौ, घोराही – घोराही उपमहानगरपालिका वडा नम्बर १९ होडबाङमा रहेको भगवती माध्यमिक विद्यालयको भवन निर्माण अधुरो बनेको छ । विद्यालयको कार्यालयका लागि निर्माणाधीन तेस्रो तल्लाको दुई कोठे भवन बजेट अपुग भएपछि स्थगित भएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा भवन निर्माण समितिका अध्यक्ष शशीराम गिरीका अनुसार विद्यालय भवन निर्माणको लागि वडाले चार लाख रुपैयाँ बजेट छुट्याएको थियो । स्टिमेट गरेअनुसार मूल्यांकन नभएपछि रकम पनि कटेर आएको उहाँले बताउनुभयो ।

उहाँले वडाले अनुदानमार्फत दिएको रकम घटेर आएको र भवन निर्माणको लागि आवश्यक पर्ने सामग्रीहरुको मूल्य बढेकाले बजेट अभावका कारण भवन निर्माण कार्य स्थगित हुन पुगेको बताउनुभयो । योजनाका कामहरु जिल्लाको दररेट अनुसार गर्नुपर्ने भएकाले जिल्लाको दररेट अहिले समाधान नभएकाले कतिसम्म खर्च हुन सक्छ भन्ने बारे मूल्यांकन गर्न नसकिएको अध्यक्ष गिरीको भनाइ छ ।

उक्त भवन निर्माणको लागि वडाबाट पुनः चार लाख बजेट माग गरिसकेको र भवन निर्माणको लागि रकम पनि विनियोजन भइसकेको उहाँले बताउनुभयो । भवनको पहिलो र दोस्रो तला निर्माण हुँदा १४ लाखको ऋण लागेको उक्त ऋण विद्यालयबाट भैलो खेलेर, नयाँ आउने शिक्षकहरुबाट केही सहयोग रकम जुटाएर चुक्ता गरेको विद्यालयका प्रध्यानाध्यापक देवीबहादुर घर्तीले बताउनुभयो ।।

प्रकाशित मिति : २०७८ भाद्र ४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्