६ असार, घोराही –
घोराहीमा करिव ६ हजार मानिसमा आँखा सम्वन्धी समस्या देखिएको छ । नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज राप्ती आँखा अस्पताले आज घोराहीमा आयोजना गरेको ‘आँखा स्वास्थ्य शिक्षा, उज्यालो अभियानमा जनप्रतिनिधिको भुमिका’ विषयक छलफल कार्यक्रममा घोराहीमा ५ हजार ८ सय ५ जनामा आँखा सम्वन्धी समस्या भएको जानकारी दिइएको हो ।
आँखा सम्वन्धी समस्या भएका ५८ सय मध्य ३ हजार ३ सय ६१ जना मोतिया बिन्दु सम्वधी समस्याका विरामी रहेको राप्ती आँखा अस्पतालका प्रमुख प्रशासकिय अधिकृत शम्शेर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार बाँकी विरामीहरु अन्य विभिन्न समस्याका रहेका छन् ।
कार्यक्रममा बोल्ने बक्ताहरुले आँखा स्वास्थ्यप्रति सचेत बन्नुपर्ने बताएका हुन । नेपाल नेत्रज्योति संघका सहसचिव चिरञ्जीवी रिजालको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख नरुलाल चौधरीले उपचार प्रभावकारी बनाउन उपमहानगरपालिका सहकार्य गर्न तयार रहेको बताउनुभयो ।
विगतबाट मोतिविन्दु रोगको निशुल्क उपचार शुरु भई सकेको जानकारी गराउदै नगर प्रमुख चौधरीले सबै नागरिकको उपचार हुनुपर्छ भन्ने मान्यतामा घोराही प्रतिबद्ध रहेको बताउनुभयो ।
कार्यक्रममा आखा स्वास्थ्यका बारेमा अस्पतालका नेत्र अधिकृत शालिकराम गौतम र दाङमा आँखाको समस्याको अवस्था र तथ्याङ्क बारेमा प्रशासकिय अधिकृत शम्शेर थापाले जानकारी गराउनुभएको थियो ।