२०८२ बैशाख ११ गते बुधवार

घोराहीका किसानलाई अनुदान र सुत्केरीलाई निशुल्क रगतको व्यवस्था



६ असार,घोराही –
घोराही उपमहानगरपालिकाले किसान, अहासय, सिमान्तकृत, सेवा तथा अधिकार र स्वास्थ्य सुरक्षाबाट बन्चित भएकाहरुको उत्थानमा केन्द्रित निती कार्यक्रम ल्याएको छ । आज नवौँ नगरसभाको आयोजना गरि आगामी आर्थिक बर्षका लागि उपमहानगरपालिकाले निती कार्यक्रम सार्वजनिक गरेको हो ।
कृषि, शिक्षा, स्वास्थ्य, रोजगारलाई प्राथमिकता दिदै सार्वजनिक गरिएको कार्यक्रममा नागरिकहरुको आर्थिक र सामाजिक उत्थानमा केन्द्रित निती अघि सारेको हो । निती कार्यक्रम सार्वजनिक गर्दै नगर प्रमुख नरुलाल चौधरीले कोरोना महामारीले असर पारेका क्षेत्रहरुको पहिचान गरि त्यसको पुर्नउत्थानका कार्यक्रमहरु सञ्चालन गरिने उल्लेख गर्नुभयो ।

सुत्केरी तथा सिकलसेल र थाल्सेमियाका बिरामीलाई निशुल्क रगतको व्यवस्था गर्न नगर प्रमुख रक्तसञ्चार सेवा र आमा तथा शिशुको जीवन रक्षाका लागि उपप्रमुख आमा शिशु सुरक्षा खुत्रुके बचत कार्यक्रम सञ्चालन गरिने भएको छ । उपमहानगरपालिको असाहय र विपन्नलाई निशुल्क एम्बुलेन्स सेवा दिने भएको छ ।

जेष्ठ नागरिकहरुको घरमै पुगेर स्वास्थ्य जाँच गर्ने, घरमै थलिएर बसेका विरामीको उपचार तथा सहयोग कार्यक्रम सञ्चालन गर्ने पनि कार्यक्रममा उल्लेख छ । स्तन, पाठेघर क्यान्सरको निशुल्क जाँच गर्ने, मोतिया विन्दुको निशुल्क शल्यक्रिया गर्ने, कोरोना संक्रमणबाट मृत्युभएका व्यक्तिको परिवारलाई ५० हजार रुपैयाँ आर्थिक सहायता दिने नगर प्रमुख चौधरीले उल्लेख गर्नुभयो ।

त्यसैगरी किसानहरुलाई धान, गहुँ, मकै, तोरी, आलु, प्याजमा ६० प्रतिशत, टनेल निर्माणमा ७५ प्रतिशत, कृषि औजार खरीदमा ५० प्रतिशत र कृषि साना सिंचाई कार्यक्रममा ८५ प्रतिशत अनुदान उपलब्ध गराउने निती लिईएको छ ।
किसानहरुलाई गाउँमै पुगेर तालिम चलाउने, जलाशय निर्माणलाई निरन्तरता दिने, प्रविधी र प्राविधिक सेवा बिस्तार, कृषि सडक, ग्रामिण विद्युतीकरण, सिंचाई तथा बजार व्यवस्थाका सुबिधालाई एकीकृतरुपमा परिचालन गरिने भएको छ ।
उन्नतजातका पशुपालनलाई प्रबद्र्धन गर्ने, माछा पालनलाई भुरा उपलब्ध गराउने, कृषकहरुका मागमा आधारीत कार्यक्रमहरुलाई सञ्चालन गर्ने उपमहानगरले जनाएको छ । त्यसैगरी कोरोनाले प्रभावित बनाएको शिक्षालाई बैकल्पिक सिकाई मार्फत अघि बढाउने र बालबालिकामा उत्पन्न भएको भयलाई न्यूनिकरण गर्न मनोपरार्श कार्यक्रम सञ्चालन गरिने भएको छ ।
विद्यार्थीलाई विद्यालय भर्ना अभियानमा सघाउन पु¥याउन सामुदायिक विद्यालय भर्ना अभियान चलाईने, दुर्गम क्षेत्रका शिक्षक, बाल विकास सहयोगी कार्यकर्तालाई थप प्रोत्साहन सुविधा दिईने भएको छ ।

थारु भाषामा तयार भएको किताबलाई आगामी आर्थिक बर्ष देखी पठनपाठनमा ल्याईने भएको छ । साथै सामुदायिक विद्यालयमा पढ्ने छात्र र छात्रा एक एक जनालाई एमविविएस पढ्न जनही ५ लाख र वि.इ. अध्ययन गर्न जनही ३ लाख रुपैयाँका दरले प्रोत्साहन स्वरुप नगद दिईने पनि उपमहानगरले जनाएको छ ।

त्यसैगरी पूर्वाधार तर्फ कालोपत्रे, ग्राभेल तथा पुराना ट्रयाक खोलेका सडकहरुलाई निरन्तरता दिने र घर नक्सा पास नगरी घर बनाउनेहरुलाई सबै सिफारीसमा रोक लगाउने पनि उल्लेख छ । फोहोरलाई मोहोरमा बदल्ने, घरको छानो मुक्त कार्यक्रमलाई निरन्तरता दिने, बाटो, पानीको मुहान, पार्क लगाएतका सार्वजनिक स्थानहरुमा हरियाली प्रबद्र्धन गर्ने कार्यक्रमलाई अघि सारिएको छ ।

सामाजिक विभेद न्यूनीकरणका लागि छुवाछुत, सामाजिक कुरीति, लैंगिक बिभेद र हिंसालाई रोक्न टोल विकास संस्था मार्फत सामाजिक परिचालन कार्यक्रम सञ्चालन गरिने भएको छ । बालबालिका, युवा तथा जेष्ठ नागरिकहरुको क्षमता तथा अधिकारलाई संबद्र्धन गर्न पनि विभिन्न कार्यक्रम सञ्चालन गरिने भएको छ ।

सहकारी, पर्यटन, उपभोक्ताको क्षेत्रमा पनि उल्लेख्य परिर्वतन ल्याउने गरी कार्यक्रम तय भएको छ । त्यस्तै सञ्चार क्षेत्रको प्रबद्र्धन तथा पत्रकारहरुको क्षमता विकासका लागि पनि कार्यक्रमहरु तय भएको नगर प्रमुख चौधरीले बताउनुभयो ।।

प्रकाशित मिति : २०७८ असार ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस्