६ असार,घोराही –कोरोनाभाइरसको संक्रमणबाट नेपाली कांग्रेसका नेता एवं पूर्वसञ्चारराज्यमन्त्री तप्तबहादुर विष्टको निधन भएको छ। पूर्वराज्यमन्त्री विष्टको आइतबार बिहान ५ बजे मेडिसिटी अस्पतालमा निधन भएको हो। उनको उपचारका क्रममा निधन भएको अस्पतालले जनाएको छ।
कांग्रेस सभापति शेरबहादुर देउवाले पनि उनको निधनले अपूरणीय क्षति भएको जनाएका छन्। देउवाले भनेका छन्, “तप्तजी एक निष्ठावान नेता हुनुहुन्थ्यो। उहाँको निधनले पार्टीलाई अपूरणीय क्षति भएको छ।” सुर्खेतमा बस्दै आएका पूर्वराज्यमन्त्री विष्टलाई केही दिनअघि कोरोना संक्रमण भएको थियो। सुर्खेतमा उपचार हुन नसकेपछि हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको थियो।
उनी २०७० मा सुर्खेत क्षेत्र नम्बर ३ बाट संविधान सभा सदस्य निर्वाचित भएका थिए। कांग्रेस सुर्खेतको सभापति भएका विष्ट २०७४ मा देउवा नेतृत्वको सरकारमा सञ्चार तथा सूचना प्रविधिराज्यमन्त्री बनेका थिए।