२०८१ असार ६ गते बुधवार

कर्णालीमा सडक दुर्घटना कम गर्न ट्राफिक प्रहरी अभियान सुरु



६ जेठ, सिमकोट- ट्राफिक प्रहरीले कर्णाली प्रदेशमा प्रतिघण्टा ३० किलोमिटरलाई माया अभियानको रूपमा जनचेतना फैलाउने कार्य सुरु गरेको छ। गाडी चालकलाई तीव्र गतिमा सवारी साधन नचलाउन आग्रह गर्दै सो अभियानमार्फत् जनचेतना फैलाउन थालिएको प्रादेशिक ट्राफिक प्रहरी कार्यालयका प्रमुख भुवनेश्वर तिवारीले बताएका छन्।

हुम्लामा सरोकारवाला निकायसँग सडक सुरक्षा र ट्राफिक व्यवस्थापनसम्वन्धि कार्यक्रममा उनले यस्तो बताएका हुन्। चालकले प्रतिघण्टा ३० किलोमिटरका दरले गाडी चलाउँदा दुर्घटना नहुने भएको हुँदा यो अभियानको व्यापक प्रचारप्रसार गरिएको तिवारीको भनाइ छ।

कर्णाली राजमार्ग र अन्य जिल्ला जोड्ने सडकमा दुर्घटनामा परी बढी यात्रुहरूको मृत्यु हुने क्रम वृद्धि भएपछि यो अभियानलाई कार्यान्वयन गर्ने तयारीमा ट्राफिक प्रहरी लागेको हो।

ट्राफिक कार्यालय प्रमुख तिवारीले अहिले यो कार्यक्रमलाई सामाजिक सञ्जालमार्फत् प्रचारप्रसार भइरहेको बताउँदै आगामी आर्थिक वर्षबाट कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीको हातबाट उद्घाटन गर्ने कार्य रहेको बताए।

कर्णालीको यस अभियानलाई केन्द्रीय ट्राफिक महाशाखाले समेत अन्य प्रदेशमा लागू गर्ने तयारी गरेको जानकारी समेत गरेको बताइएको थियो।

हाल कर्णाली राजमार्गमा रात्रिकालीन सेवा बन्द गरिएको बताउँदै उनले त्यसबाट पनि सडक दुर्घटनामा कमी आएको समेत तिवारीले जानकारी दिए।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सीता परियार, सुरक्षा निकाय, यातायात व्यवसायी लगायत अन्य सरोकारवाला पक्षको सहभागिता रहेको थियो। देशसंचारबाट

प्रकाशित मिति : २०७९ जेष्ठ ६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्