७ चैत, दाङ- गत फागुन २१ गतेदेखि जिल्ला अदालत दाङको मूलगेटमा अनसन बसेकी समीक्षा शर्माले अनसन तोड्नुभएको छ । राष्ट्रिय मानवअधिकार आयोगको उपस्थितिमा उहाँले अनसन तोड्नुभएको हो । घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डिसीले जुस खुवाएपछि अनसन तोडिएको हो ।
त्यहाँ राष्ट्रिय मानवअधिकार आयोग नेपालगञ्जका कार्यालय प्रमुख द्वारिका खरेल, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल, जिल्लास्थित महिला मानवअधिकार रक्षकहरु, नागरिक समाज तथा पत्रकारहरुको उपस्थिति थियो ।
आमरण अनसन तोडेको भए पनि जिल्ला अदालतमा धर्नालाई भने निरन्तरता दिने उहाँको भनाइ छ । जबर्जस्ती करणीविरुद्धको आफ्नो मुद्दामा आफ्ना प्रमाणहरु नहेरिएको भन्दै उहाँ आमरण अनसनमा हुनुहुन्थ्यो । सो मुद्दाका आरोपी पुर्पक्षका लागि थुनामा छन् भने जिल्ला अदालतमा सो मुद्दा प्रक्रियामा रहेको छ ।।