७ चैत, दाङ – सल्यानको कालिमाटी गाउँपालिका–२, खैरिकाँडामा आगलागी हुँदा दुई घरगोठ जलेर पूर्ण रूपमा नष्ट भएका छन् । आगलागीका कारण स्थानीय केशलाल वली र प्रेमबहादुर विकको घर तथा उनीहरूको पशुचौपाया र मौरीघार समेत जलेर नष्ट भएको छ ।
वडा अध्यक्ष इन्द्र बहादुर वलीका अनुसार गयराति करिब १ बजे सुरु भएको आगोले केशलाल वलीको १ गोरु, १० बाख्रा, ६ कुखुरा र २ मौरीघार नष्ट गरेको छ । यस्तै प्रेमबहादुर विकको १७ हजार नगद, ७ कुखुरा, १ हाँस, ३ मौरीघार र नयाँ घर बनाउन संकलन गरिएका काठपात जलेका छन् ।
लत्ताकपडा, अन्नपात, भाँडाकुँडा सबै नष्ट भएको छ । प्रहरीको प्रारम्भिक अनुमानअनुसार क्षतिको कुल मूल्य करिब १० लाख रुपैयाँ रहेको छ । स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा राति नै आगो नियन्त्रणमा लिइएको भए पनि क्षति ठूलो भएको छ ।
आगोले घरवार गुमाएका पीडितहरूको राहतका लागि कालिमाटी गाउँपालिकाले पहल थालेको छ । खाद्यान्न, लत्ताकपडा जस्ता आवश्यक सामग्रीको व्यवस्था मिलाउने प्रयास भइरहेको वडा अध्यक्ष वलीले बताउनुभयो ।।