२०८० फाल्गुन १२ गते शनिवार

म्यादी प्रहरी: दाङमा पहिलो दिन ६५३ जनाले दिए आवेदन




६ चैत,घोराही –
जिल्ला प्रहरी कार्यालय दाङमा म्यादी प्रहरीमा भर्ना हुन आवेदन दिनेहरूको भिड लागेको छ । आगामी २०७९ बैशाख ३० गतेका लागि तोकिएको स्थानीय तह निर्वाचनको सुरक्षार्थ नेपाल प्रहरीले आइतबारदेखि म्यादी प्रहरीमा भर्नाका लागी आवेदन खुला गरेपछि प्रहरी कार्यालय अगाडि युवाहरूको भिड लागेको हो । नेपाल प्रहरीले एक लाख म्यादी प्रहरी भर्नाका लागि आवेदन खुलाएको छ । त्यस्तै दाङका लागि १६ सय ४ म्यादीलाई छनौट गर्ने तयारी भएको प्रवक्ता मुकुन्द रिजालले बताउनुभयो । उहाँका अनुसार आज पहिलो दिन दाङमा ६५३ जनाले आबेदन दिएका छन् ।

जिल्लाका ग्रामीण र सहरी क्षेत्रका युवाहरू दर्खास्त दिन पुगेको प्रवक्ता रिजालले बताउनुभयो । उहाँका अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका पूर्वसुरक्षाकर्मी, नेपालबाहिरका सुरक्षा निकायमा काम गरेका र यसअघिका चुनावमा म्यादी प्रहरी बनेकालाई प्राथमिकता दिइनेछ । छनोट भएकाहरूलाई २८ चैतदेखि तालिम दिएर चुनावका लागि ४० दिन काम लगाइनेछ ।
१८ वर्ष पूरा भइ ५४ वर्ष ननाघेका व्यक्तिले ११ चैतसम्म आवेदन दिन सक्ने जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । फौजदारी अभियोग नलागेको, कुनै राजनीतिक दलको सदस्य नभएको, शारीरिक र मानसिकरुपले तन्दुरुस्त नेपाली नागरिकले आवेदन दिन सक्ने प्रवक्ता रिजालले बताउनुुभयो ।

प्रकाशित मिति : २०७८ चैत्र ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस्