२०८० फाल्गुन १७ गते बिहिवार

दाङमा पन्ध्र सय म्यादी प्रहरी छनौट हुने




६ चैत,घोराही – आउँदो बैशाख ३० गतेका लागि तोकिएको स्थानीय तह निर्वाचनको सुरक्षार्थ दाङमा म्यादी प्रहरीको भर्ना प्रक्रियाका लागि आईतबारदेखि आवेदन लिन थालिएको छ । जिल्ला प्रहरी कार्यालय दाङमा म्यादी प्रहरीका लागि आवेदन दिनेहरुको निकै भिड रहेको छ । चैत ११ गतेसम्म आवेदन दिन सकिने छ । कार्यालय खुला भएको दिन बिहान १० बजेदेखि साँझ ५ बजेसम्म आवेदन दिन सकिने दाङका प्रहरी प्रबक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।

१८ वर्ष पूरा भइ ५४ वर्ष ननाघेकाले म्यादी प्रहरीमा आवेदन दिन सक्नेछन् । चैत १५ गतेदेखि छनोट प्रारम्भ हुने, चैत २२ गतेसम्म छनोट सम्पन्न गर्ने र चैत २८ गतेदेखि प्रशिक्षण सुरु गर्ने उहाँको भनाई छ ।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीमा गत साउन १ गतेदेखि विभिन्न पदमा भर्नाका लागि आवेदन दिई शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तिर्णले पनि भर्ना हुन प्राथमिकता पाउनेछन् । उनीहरूले प्रवेश पत्रको प्रतिलिपि पेस गर्नुपर्नेछ ।

दाङमा म्यादी प्रहरीका लागि आवेदन दिनेहरुको भिड थामिनसक्नुको छ । आधा दर्जन स्थानबाट उनिहरुको फारम भर्ने व्यवस्था मिलाईएको छ । दाङका लागि सरदर १५ सय म्यादीलाई छनौट गर्ने तयारी भएको दाङका प्रहरी प्रमुख, प्रहरी उपरिक्षक सुरेशप्रसाद काफ्लेले जानकारी दिनुभएको छ ।

तीनवटै सुरक्षा निकायका अवकाशप्राप्त कर्मचारी, विदेशी मित्र राष्ट्रका सुरक्षा निकायमा काम गरेर अवकाश पाएकाहरूलाई म्यादीमा प्राथमिकता दिइएको छ । म्यादी प्रहरी ४० दिनका लागि नियुक्त हुनेछन् ।

उनीहरूले तलवबापत एकमुष्ट ३० हजार २ सय ४०, खाद्यान्नबापत ७ हजार २ सय, पोसाकबापत ६ हजार र यातायात खर्चबापत एक हजार गरी करिब ४४ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

स्थानीय तह निर्वाचनको सुरक्षार्थ देशभर एक लाख म्यादीको भर्ना प्रक्रियाका लागि आईतबार देखि आवेदन लिन थालिएको छ ।।

प्रकाशित मिति : २०७८ चैत्र ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस्