२०८० फाल्गुन १८ गते शुक्रवार

सल्यानमा बालबालिकामा कुपोषण बढ्दै



६ चैत्र, सल्यान –
सल्यानका ग्रामीण क्षेत्रका बालबालिकामा कुपोषणको समस्या बढ्दै गएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार ३ वर्षमा झन्डै ६ सय बालबालिका कुषोषित भएका छन् । जसमध्ये ७३ जनामा कडा खालको कुपोषण देखिएको छ ।

कार्यालयका अनुसार सन्तुलित भोजनको अभाव, कम उमेरमा बच्चा जन्माउनु, गर्भवती र शिशुले स्याहार नपाउनु लगायतका कारण कुपोषणको समस्या बढ्दै गएको हो । आर्थिक वर्ष ०७६/७७ मा २ सय २१ बालबालिका कुपोषित भएकोमा गत आर्थिक वर्षमा २ सय ४० जनामा कुपोषणको समस्या देखिएको थियो ।

चालु आर्थिक वर्षमा १ सय ३८ जनामा कुपोषण देखिएको कार्यालयको तथ्यांक छ । ३ वर्षको अवधिमा ५ सय ९९ बालबालिकामा कुपोषण देखिएको कार्यालयले जनाएको छ । त्यसमध्ये कडा खालका समस्या देखिएका ७३ र मध्यम खालका ५ सय २६ जना रहेका छन् ।

शारदामा नगरपालिकमा ६८, बाग्चौरमा ६५, बन्गाडकुपिण्डेमा १२०, दार्मामा ८३ र कुमाखमा ३० जनामा ३ वर्षको अवधिमा कुपोषण देखिएको छ । त्यस्तै सिद्धकुमाखमा ३२, छत्रेश्वरीमा ६३, कालीमाटीमा ३१, त्रिवेणीमा ४९ र कपुरकोटमा ३८ बालबालिका कुपोषित भएका छन् ।।

प्रकाशित मिति : २०७८ चैत्र ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस्