७ चैत,घोराही ।
दाङ जिल्ला उद्योग वाणिज्य संघको ५१ औँ स्थापना दिवसका अवसरमा शनिवार भएको भलिबल प्रतियोगितामा मोबाईल तथा ईलेक्ट्रोनिक्स व्यवसायी संघ विजयी भएको छ । प्रतियोगीतामा ४ वटा बस्तुगत समितिहरुले सहभागिता जनाएका थिए । फाईनल खेल फेन्सी व्यवसायी समिति र मोबाईल तथा ईलेक्ट्रोनिक्स व्यवसायी संघबीच खेल भएको थियो । फाईनल खेलमा मोबाईल तथा ईलेक्ट्रोनिक्स व्यवसायी संघले फेन्सी व्यवसायी समितिलाई २५–१६, २५–१५ को सोझो सेटमा पराजित गरेको थियो ।
पहिलो खेलमा फेन्सी व्यवसायी समितिले सुरक्षित कुखुरा तथा दाना व्यवसायी समितिलाई २५–१३, २५–१९ को सोझो सेट हराउँदै फाईनलमा पुगेको थियो । दोश्रो खेलमा मोबाईल तथा ईलेक्ट्रोनिक्स व्यवसायी संघले फोटो व्यवसायी समितिलाई २५–२२, १८–२५ र १३–१५ को सेटमा जिह हासिल गरेको थियो । यसैबीच, दाङ जिल्ला उद्योग वाणिज्य संघ र गढवा उद्योग वाणिज्य संघबीच भएको मैत्रीपूर्ण भलिबलमा गढवा उद्योग वाणिज्य संघको टोली विजयी भएको भलिबल प्रतियोगिता उपसमिति संयोजक तथा दाङ जिल्ला उद्योग वाणिज्य संघका सचिव नरेश कुमार श्रेष्ठले जानकारी दिए ।
गढवा उद्योग वाणिज्य संघले दाङ जिल्ला उद्योग वाणिज्य संघलाई २५–१३, २५–११ सोझो सेटमा विजयी भएको थियो । प्रतियोगिताको उद्घाटन कार्यक्रम संघका अध्यक्ष टंकसिंह बुढाथोकीको अध्यक्षता तथा संघका पूर्व अध्यक्ष चन्द्रराज पन्तको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रमको सहजिकरण सचिन नरेशकुमार श्रेष्ठले गरेका थिए ।
वि स २०२७ सालमा स्थापित दाङ जिल्ला उद्योग वाणिज्य संघ राप्तीको पुरानो संस्था हो । संस्थाको स्थापना दिवस भव्य रुपमा मनाउन उद्योगी व्यवसायी बीच मैत्रीपूर्ण खेल देखि विभिन्न प्रतियोगिता संचालन गरेको संघका महासचिव महेन्द्र वुढाथोकीले जानकारी दिए । जस अन्तरगत संघले उद्योगी व्यवसायीको विभिन्न बस्तुगत समितिबीच खेलकुद प्रतियोगिता गरिएको थियो । उद्योगी व्यवसायी बीचको सम्बन्ध थप बलियो बनाउन र स्वास्थ्यका लागि खेल आयोजना गरिएको संघका अध्यक्ष टंकसिह वुढाथोकीले बताए ।
संघले स्थापना दिवसको अवसरमा व्यवसायीहरु विच मैत्रिपुर्ण फुटबल, भलिबल, स्लो बाईक, कुर्सी दौड, स्लो स्कुटी, घैटा फोड, वक्तृकला र हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरि सकेको छ । संघले अब आईतबार संघको कार्यालयमा रक्तदान कार्यक्रम गर्ने जनाएको छ । यही चैत ९ गते घोराहीमा भव्य समारोहका बीच स्थापना दिवस मनाईने भएको छ ।