२०८१ चैत्र १० गते आइतवार

माधव नेपालले माफी नमागे कारबाही गरिने ओलीको चेतावनी



७ चैत,काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षले गरेको राष्ट्रिय भेलालाई कम्युनिस्ट आन्दोलनको कलंक भएको टिप्पणी गरेका छन् ।

अधक्ष्य ओलीले भेलाका आयोजक अगुवालाई स्पष्टिकरण सोधिने पनि बताएका छन् । बालुवाटारमा आयोजित संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले सच्चिएर आत्मालोचना गरेर आएमात्र सोच्न सकिने बताए ।

भेला आयोजकहरुले आत्मालोचना नगरे कारवाहीको प्रक्रिया अघि बढाइने समेत ओलीले चेतावनी दिएका छन् । बैठकलाई सम्बोधन गर्दै ओलीले नेतृत्वलाई खुइल्याउने र सरकारको बदनाम गराउने नियतले भएको उक्त भेला नगर्न आफू ९अध्यक्ष० र महसचिवले निर्देशन दिँदा दिँदै पनि गरिएको बताए ।

‘कम्युनिस्ट आन्दोलनको कलंकको रुपमा चिनिएको भेलाको आयोजक अगुवालाई कारवाही गरिनेछ,’ ओलीले भने ।

ओलीले आफ्नो राजीनामा माग्नेहरुलाई अविश्वासको प्रस्ताव ल्याउन चुनौती दिए । तर सरकारकोविरुद्ध अविश्वास प्रस्ताव आउने स्थिति नदेखिएको पनि ओलीले दाबी गरे ।

ओलीले पार्टीका बैठक बहिस्कार गरेर अरुकै लागि भेलाहरु गरिरहेको भन्दै माधव नेपालहरुमाथि अनुशासनको कारवाही शुरु हुने बताए ।

एमालेको चुनाव चिन्ह र झण्डा कब्जा गरेर प्रचण्डलाई बुझाउने नियतले फर्केको हो भने त्यो सपना नदेख्न समेत ओलीले चेतावनी दिए ।

ओलीले भने, ‘बरु प्रचण्ड ह्वाङ्गै, छ्याङ्गै छन् । बुटवल र सिन्धुलीबाट सबै कुरा छ्याङै पारे । मलाई त अध्यक्ष र पार्टी सदस्यबाट हटाए, धन्न नागरिकता खोसेनन् मेरो । उनीहरुले पार्टी र झण्डा चुनाव चिन्ह कब्जा गर्न खोजेका थिए । केपी ओली भएसम्म त्यो सपना नदेखे हुन्छ ।’

प्रकाशित मिति : २०७७ चैत्र ७ गते शनिवार
प्रतिक्रिया दिनुहोस्