८ फागुन,घोराही – अमेरिकी सहयोग परियोजना एमसीसीको बारेमा सहमति जुटे आजै संसद बैठकमा टेबल गर्ने तयारी सरकारले गरेको छ ।
संसद बैठक दिउँसो १ बजेका लागि बोलाइएको भए पनि सङ्घीय संसद सचिवालयले निकालेको सम्भावित कार्यसूचीमा एमसीसी टेबल गर्ने उल्लेख छैन ।
बिहान साढे ११ बजे बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकपछि कार्यसूचीलाई अन्तिम रूप दिने तयारी सभामुख अग्निप्रसाद सापकोटाले गर्नुभएको छ । कार्यव्यवस्था परामर्श समितिको बैठकअघि सरकारमा रहेका दलहरूको बैठक बिहान १० बजे बालुवाटारमा बस्दैछ ।
सरकारमा रहेको एकीकृत समाजवादी पार्टीले यथास्थितिमा एमसीसी पारित गर्न नसकिने निर्णय हिजो गरेको छ । स्थायी कमिटीको बैठकले एमसीसीको बारेमा संसदमा छलफल गर्न सकिए पनि पारित गर्न नसकिने निर्णय गरेको नेता प्रकाश ज्वालाले बताउनुभएको छ ।।