८ फागुन ,दाङ ।
घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले गरिबी नहट्दासम्म मुलुक समृद्ध बन्न नसक्ने बताउनुभएको छ । मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम सिफारिस समितिले घोराहीले आयोजना गरेको बटाई पालन तालिम तथा खोर बितरण कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले यस्तो बताउनुभएको हो ।
भौतिक पूर्वाधारले मात्र मुलुकको समृद्धि सम्भव नभएको भन्दै नगरप्रमुख चौधरीले गरिबी हटाउने अभियानमा सबै लाग्नुपर्ने बताउनुभयो । गरिब तथा बिपन्न व्यक्ति र परिवारको जीवनस्तर उकास्नका लागि मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम सुरु भएको भन्दै नगर प्रमुख चौधरीले यो कार्यक्रमका माध्यमबाट घोराही उपमहानगरपालिकाले स्वरोजगार जनशक्ति उत्पादन गर्दै गरिबीको दर घटाउने बताउनुभयो । ‘मुलुकको समृद्धिका लागि जनताको जीवनस्तर उकासिनु पर्दछ भन्ने मान्यताले लुम्बिनी प्रदेश सरकारले मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम सुरु गरेको छ । यस वर्षदेखि यो कार्यक्रम घोराहीमा पनि लागुभएको छ’, नगरप्रमुख चौधरीले भन्नुभयो, ‘मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमको माध्यमबाट हामीले घोराही उपमहानगरपालिकामा गरिबी घटाउँदै स्वरोजगार जनशक्ति उत्पादन गर्नेछौं ।’
कार्यक्रमका विशिष्ट अतिथि घोराही उपमहानगरपालिका वडानम्वर १७ का वडाध्यक्ष खुसीराम चौधरीले प्रदेश सरकारले प्रदान गरेको अवसरलाई सदुपयोग गर्नतर्फ लाग्ने बताउनुभयो । लामो समयदेखि राज्यको मुल धारमा आउन नसकेको बिपन्न परिवारलाई लक्षित गरी लुम्बिनी प्रदेश सरकारले सञ्चालन गरेको मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम प्रभावकारी हुँदै गएको भन्दै अध्यक्ष चौधरीले आफ्नो वडाका बिपन्न परिवारका लागि वटाई पालन तालिम तथा व्यवसाय सञ्चालन कार्यक्रमका खोर र ह्याचरी बितरण कार्यक्रम सञ्चालन गरेकोमा धन्यवाद प्रदान गर्नुभयो ।
बबई पालन समूहका अध्यक्ष भूमिस्वरा घर्तीको अध्यक्षतामा भएको कार्यक्रममा वडासदस्य रेमन्ता पुन, तालिम प्रशिक्षक घोराही उपमहानगरपालिकाका अधिकृत श्रीधर अधिकारीलगायतले बोल्नुभएको थियो । कार्यक्रममा घोराही उपमहानगरपालिका वडानम्वर १७ का नौजना बिपन्न परिवारका सदस्यहरुको सहभागीता रहेको थियो । कार्यक्रमको सहजीकरण मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमका कार्यक्रम सहजकर्ता टीकाबहादुर बस्नेतले गर्नुभएको थियो ।