२०८१ फाल्गुन ३ गते शनिवार

घोराहीका १२ हजार बढि छात्राहरुलाई क्यान्सरबाट बच्न खोप दिईने



७ माघ, घोराही – पाठेघरको मुखमा हुन सक्ने क्यान्सरबाट बच्नका लागि घोराही उपमहानगरपालिकाले १० देखि १४ बर्ष उमेरका १ सय ८ वटा विद्यालयमा अध्ययनरत १२ हजार ६ सय ९७ जना छात्राहरुलाई खोप लगाउने भएको छ । यही माघ २२ गते देखि फागुन ६ गते सम्म सरकारी र संस्थागत विद्यालयमा पुगेर १० देखि १४ बर्ष उमेरका कक्षा ६ देखि १० कक्षा सम्म अध्ययनरत छात्राहरुलाई खोप दिने तयारीका साथ स्वास्थ्यकर्मीहरुलाई तालिम प्रदान गरिएको छ ।

नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा कार्यक्रम गरि स्वास्थ्यकर्मीहरुलाई अभिमुखिकरण गरिएको छ । नगर प्रमुख चौधरीले पाठेघरको मुखमा हुने क्यान्सर हुनबाट बच्नका लागि सरकारले ल्याएको खोप कार्यक्रमलाई प्रभाबकारी ढंगले सञ्चालन गर्न आग्रह गर्नुभयो । नगर उपप्रमुख हुमाकुमारी डिसीले नगरले पाठेघर मुखको क्यान्सर भए नभएको जाँच गर्ने कार्यक्रम सञ्चालन गर्दै आएको र खोप कार्यक्रमले ठूलो सहयोग पुग्ने बताउनुभयो ।

प्रशासन महाशाखा प्रमुख बासुदेव आचार्य, जनस्वास्थ्य प्रबद्र्धन शाखा प्रमुख राधा पौडेलले खोप कार्यक्रमलाई व्यक्ति निरोगि बन्ने माध्यमकारुपमा बुझेर खोपलाई प्रभावकारी बनाउनु आग्रह गर्नुभएको छ । कार्यक्रमको सहजिकरण ठाकुर खनालले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८१ माघ ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस्