
७ माघ, दाङ – तुलसीपुर उपमहानगरपालिका–४ मूलकोटमा उपमहानगरपालिका–४ मूलकोटमा अवस्थित सिद्धे चमेरे गुफा प्रचारप्रसार तथा बाटोको असुविधाका कारण ओझेलमा परेको छ । जिल्लाकै पर्यटकको राम्रो सम्भावना बोकेको भएर पनि धेरैलाई जानकारी नहुँदा अवलोकनका लागि न्यून सङ्ख्यामा पर्यटक जाने गर्दछन् ।
चारैतिर जङ्गल, पहाडको फेदमा रहेको सुन्दर प्राकृतिक गुफा देख्दा भने त्यहाँ पुग्ने जो कोही पनि मोहित हुने गर्दछन् गुफा क्षेत्र हरियाली र स्वच्छताले भरिपूर्ण छ । त्यहाँको मनमोहक दृश्यले अवलोकन गर्न पुग्ने सबैलाई लोभ्याउने गरेको छ । गुफा अवलोकन गर्न जानका लागि सडक सुविधा नहुँदा पैदल हिँडेर जानुपर्ने बाध्यता छ । गुफा तुलसीपुर बजारदेखि करिब १२ किलोमिटरको दूरीमा छ ।
करिब साढे दुई दशक पहिले पत्ता लागेको प्राकृतिक गुफाको प्रचारप्रसार र प्रवर्धन गर्नसके बाह्य तथा आन्तरिक पर्यटकको प्रवर्धन हुने स्थानीयवासीको भनाइ छ । तुलसीपुरबाट गुफा अवलोकन गर्न एक साताअघि पुग्नुभएकी व्यावसायी विमला पौडेलले गुफा देख्दा अति आनन्द आएको बताउनुभयो ।
तुलसीपुर उपमहानगरपालिका–५ की ४५ वर्षीया निरा ढुङ्गानाले चमेरे गुफाको विकासमा स्थानीय सरकारले उचित ध्यान नदिँदा अहिलेसम्म सो क्षेत्र ओझेलमा परेको बताउनुहुन्छ । प्राकृतिक रूपमा रहेको गुफाको संरक्षण र यसलाई दिगो विकास गर्नसके जिल्लाकै मुख्य पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सकिने हुँदा यस गुफाको विकासमा ध्यान दिन स्थानीय, प्रदेश तथा सङ्घीय सरकारलाई उहाँको आग्रह छ ।
शनिबार तथा बिदाका दिनमा भने त्यो सङ्ख्यामा केही वृद्धि हुने चमेरे गुफा संरक्षण समितिले जनाएको छ ।
गुफासम्म पुग्नसाविकको जिल्ला विकास समिति, तुलसीपुर उपमहानगरपालिका, स्थानीय सामुदायिक वन र पर्यटन विकास कार्यालय भैरहवाको आर्थिक सहयोगमा गुफासम्म पुग्ने कच्ची बाटो, यात्रु प्रतीक्षालय, चमेना गृह तथा अन्य केही संरचनाहरू निर्माण भए पनि पछिल्ला वर्षमा कुनै निकायबाट बजेट उपलब्ध नगराउँदा गुफाको पर्याप्त विकास तथा पक्की सडक निर्माण हुन सकेको छैन ।
प्रकाशित मिति : २०८१ माघ ७ गते सोमवार